काठमाडौँ- एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक करिब रु. एक खर्बभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन। आइएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक रुपमा एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याएको छ।
पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ।
देशभित्र भित्रिएको विप्रेषण अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको र त्यसले आर्थिक विकासमा ध्यान दिन नसकेको टिप्पणी भइरहेका बेला आइएमई लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, 'यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ।' अध्यक्ष ढकालले आफ्नो कम्पनीले प्रत्यक्षरुपमा ४० हजारलाई रोजगारी दिएकोसमेत जानकारी दिए।
आफूहरुले संस्था सुरु गर्ने बेला विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले गरेको नीतिगत प्रावधानले सहज भएको उनले जानकारी दिए। अनौपचारिक रुपमा भित्रिँदै आएको विप्रेषण सुरुआती चरणमा आफूहरुकै पहलमार्फत औपचारिकरुपमा आउन थालेको तथ्य पेश गर्दै उनले सरकारले लिने सही नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने बताए।
आइएमई लिमिटेडको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले आर्थिक विकासका लागि सरकारसँग मिलेर आफूहरु काम गरिरहेको उल्लेख गरे।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए। उनले आर्थिक अस्थिरताबाट स्थिरतातर्फ लाने र मुलुक तथा नागरिकको आवश्यकताका आधारमा बजेट निमार्ण भएकाले यसको कार्यान्वयमा सबैले एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरे।