काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा मर्जरमा नजाने बैंकहरुको सुविधामा कटौती गर्ने मौखिक चेतावनी दिएपछि पछिल्लो समय बैंकहरु मर्जरका लागि जोडतोडले तयारी गरिरहेका छन्।
शुक्रबार नेपाल इन्भेष्टमेण्ट बैंकले मेगा बैंकसँग मर्ज गर्ने सम्झौता गरेपछि थप दबाबमा रहेको हिमालयन बैंकले पनि सिभिल बैंकसँग मर्ज गर्ने भएको छ।
हिमालयन बैंंकले मर्जका लागि सिभिल बैंकसँग करिब करिब टुंगो लगाए पनि कति रेसियोमा मर्जमा जाने भन्ने विषय भने टुंग्याउन बाँकी रहेको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिएका छन्। यसअघि नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर तोडेको हिमालयन बैंकले सिभिलसँग मर्ज सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको छ। केही वर्षअघि सिभिल बैंकले हिमालयन बैंकलाई मर्जका लागि प्रस्ताव पठाएको थियो। सो प्रस्ताव बेवास्ता गर्दै हिमालयन बैंकका उच्च व्यवस्थापनले जो पायो त्यहीसँग मर्ज नगर्ने भन्दै सार्वजनिक स्थानमा नै उत्तर दिएका थिए।
त्यस्तै हिमालयनसँग मर्जमा जाने समाचार बाहिरिएपछि सिभिल बैंकको सेयर कारोबार बढेको थियो। हिमालयन बैंकले मर्ज गर्ने कुरा नभएको बताएपछि धितोपत्र बोर्डले सिभिल बैंकसँग स्पष्टीकरण नै मागेको थियो। तर पछिल्लो समय भने हिमालयन बैंक नै सिभिललाई मर्जको लागि प्रस्ताव लिएर गएको बताइएको छ।
स्वाप रेसियोमा छलफल चलिरहेको र सहमति भएमा असार मसान्त अगावै मर्जरको सम्झौता गर्ने तयारी रहेको ती सञ्चालकले जानकारी दिए। सुरुमा १००ः ५० दिन पनि नमानेको हिमालयन बैंकले पछिल्लो समय सिभिलले आक्रामक प्रगति गरेपछि भने १००ः९५ (अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर ९५ कित्ता हिमालयन बैंकको सेयर) को रेसियोबाट बार्गेनिङ सुरु भएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले १००ः९० (नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता बराबर मेगा बैंकको १०० कित्ता) को रेसियोमा मर्ज भएपछि सिभिलले पनि हिमालयन बैंकसँग ९५ बाट बार्गेनिङ सुरु गरेको हो। तर हिमालयन बैंक भने ८५ दिन तयार भएको बताइएको छ। तर सिभिलले अरु बैंकहरु पनि आफूसँग मर्ज हुन आएको भन्दै ९० भन्दा माथि नदिए मर्जमा नजाने अडान लिएको छ।
हिमालयन ५ कित्ता बढ्ने र सिभिल ५ कित्ता घट्ने हो भने सहजै मध्यविन्दुमा आउन सकिने भएकोले त्यही छलफलल भइरहेको बैंकका एक सञ्चालकले बताए। केही समयअघि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा जम्मा १५ वटा वाणिज्य बैंक भए पर्याप्त हुने निष्कर्ष निकालेको थियो। यदि हिमालन र सिभिल बैंक मर्ज भएमा मर्जरपछि बनेको बैंकको चुक्ता पुँजी २२ अर्ब हुनेछ।