काठमाडौं– चालू आर्थिक वर्षको दश महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँले बचतमा थियो।
नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो।
आर्थिक वर्ष २०७८–०७९ को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो महिनाको डलर सञ्चितिले ७.४ महिनाको वस्तु आयात तथा ६.६ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त थियो। यसरी हेर्दा डलर सञ्चितिमा थोरै दबाब परेको देखिन्छ।