काठमाडौं– सरकारले केही उद्योग व्यवसायीलाई मात्र पोस्नेगरी कर बढाएपछि मोरङका उद्योगीहरु आन्दोलनमा उत्रेका छन्।
बिहीबार सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (सिएनआई)को प्रदेश नम्बर १ सहित ४ मुख्य ट्रेड युनियनले गरेको आन्दोलनमा उनीहरुले सरकारले केही उद्योगीहरुलाई मात्र पोस्नेगरी बढाइएको कर तत्काल फिर्ता गर्नुपर्ने माग अघि सारेका छन्।
उनीहरुले सरकारको गलत नीतिका कारण तीन थरीका करिव २ सय भन्दा बढी उद्योग बन्द हुने भन्दै तत्काल सच्याउन र नसच्याए सो उद्योगहरु बन्द हुने भएकोले मजदुर र कर्मचारीलाई बेलैमा अर्को रोजगारी खोज्न पनि सुझाव दिए। व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले बिहीबार भएको उद्योगीहरुको आन्दोलनलाई सम्बोधन गर्दै एक महिनाभित्रै देशका स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित तीन प्रकारका करिव २ सय उद्योग बन्द हुन लागेको बताए। त्यहाँ काम गर्ने कर्मचारी र मजदुरले अन्तै जागिर खोज्न आग्रह गर्दै भने, ‘राज्यले लिएको गलत नीतिका कारण तपाईंहरुको रोजगारी खोसिँदै छ, अन्तै जागिर खोज्नुहोस्।’ २ सयवटा उद्योगहरु बन्द हुँदा ६ हजार कर्मचारी र मजदुरको रोजीरोटी खोसिने छ।
‘अर्थमन्त्रीज्यूले राजस्व संरचनामा सुधार गर्नुभएन भने उद्योग बन्द गर्नुको विकल्प छैन। त्यो बेला हामी रोजगारी दिन सक्तैनौँ,’ राठीले भने। व्यापार संघका महासचिव अनिल शारडाले विगतका वर्षमा एक जिआई वायरको उद्योगले एक वर्षमा ५ सय करोडको निर्यात गरेको उल्लेख गर्दै एमएसमा आधारित देशका सबै उद्योग अर्थमन्त्री जनार्दन शर्माको गलत नियतको सिकार भएको धारणा राखे।
उद्योग सङ्गठन मोरङका सदस्य सौरभ शारडाले अर्थमन्त्रीले संरक्षण गरेको उद्योगले उत्पादन गर्ने जिआई वायर र ग्याभियन बक्सजस्ता सामग्री गुणस्तरहीन हुने उल्लेख गर्दै ती सामग्रीले नदी कटान र भूस्खलनको रोकथामको काम गर्न नसक्ने टिप्पणी गरे। हुलास वायरका सञ्चालक युक्ति गोल्छाले विगतमा आफ्नो उद्योगले एक वर्षमै २८ हजार टनसम्म जिआई वायरको निकासी गरेर सिआईपी पाएको बताईन्। उनले भनिन्, ‘मैले एक वर्षमा २८ हजार टनसम्म जिआइ वायर निकासा गरेकी थिएँ। अहिले उद्योग नै बन्द हुने अवस्थामा छ।’
उनका अनुसार अर्थमन्त्रीले निर्धारण गरेको राजस्व संरचनाबाट जिआई वायरको उत्पादनगर्दा ३१ प्रतिशतको महँगो राजस्व लाग्ने तर भारतबाट त्यही जिआई वायर ६ प्रतिशत भन्सार महसुल र प्रतिकिलो १० रुपैयाँ अन्तःशुल्क तिरेर सस्तोमा पैठारी गर्न सकिने भएको छ।
गोल्छाले भनिन्, ‘हाम्रो उद्योगले एमएस वायर रडमा आधारित जिआई वायर, ग्याभियन बक्स लगायतका सामग्रीको उत्पादन गरेको ३ दशकभन्दा बढी भइसक्यो। आजसम्म युनिट बन्द गर्नुपरेको थिएन। तर देशका अर्थमन्त्रीको नियतका कारण उद्योगमा ताल्चा लगाउनुपर्ने परिस्थिति उत्पन्न भएको छ।
सरकारले आगामी आर्थिक बर्षका लागि जिआइ वायरमा १० प्रतिशत भन्सार र अन्तःशुल्क प्रति क्वीन्टल ४५ सय बनाएको छ। यसअछि भन्सार ५ र प्रति क्वीन्टल २५ सय रुपैयाँ अन्तःशुल्क पर्ने गरेको थियो। तर सोही सामानमा भारतले जिआइ वायरको निर्यातमा १५ प्रतिशत निकासी शुल्क लगाइदिएको छ भने फिनिसिङ वस्तुको निर्यातमा भने शून्य दर लगाएको छ।
त्यस्तै सेनीटरी प्यानमा पनि आयातित प्याडलाई ९० प्रतिशत भन्सार फ्री गरेको छ। जसले आयातित सामान सस्तो र यहाँ नै उत्पादन गरेको सामान महँगो भई यहाँको उत्पादन सुक्ने अवस्था आउने छ।