काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले इम्बोस्ड नम्बर प्लेट लगायतका विषयमा आफूविरुद्ध लाग्दै आएका सम्पूर्ण आरोप मिथ्या र निराधार रहेको दाबी गरेका छन्। मंगलबार सञ्चार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपालमा टेन्डर नपरेका ठेकेदारले इन्जिनियरलाई नै निशाना बनाएर भ्रष्टाचारको आरोप लगाउने प्रवृत्ति मौलाउँदै गएको र आफू पनि सो प्रवृत्तिको सिकार भएको बताएका हुन्।
‘कुनै पनि सरकारी ठेक्का प्रक्रियामा ठेक्का नपाएका ठेकेदार कम्पनीको निशाना सरकारी इन्जिनियरमाथि हुन्छ, म त्यसैको सिकार भएको हुँ,' पत्रकारसँग उनले भने। सरकारी ठेक्का पाउन नसकेका ठेकेदारले नै आफूलाई विभिन्न आरोपमा मुछेर गलत अफवाह फैलाइदिएको उनको आरोप छ।
विभिन्न समयमा मिडियाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरण, इम्बोस्ड नम्बर प्लेट छपाई र वितरण, मेसिन रिडेबल पासपोर्ट (एमआरपी), आईटी ल्याब स्थापना, नेपाल टेलिकमको फोरजी विस्तार, यातायात व्यवस्था विभागको स्मार्ट लाइसेन्स छाप्ने, प्रिन्टर खरिदलगायत दर्जन काण्डमा आफूलाई मुछेर गलत समाचार बनाएको भन्दै उनले दुःख व्यक्त गरे।
'विभिन्न प्रकरणमा मिडियाले जहिल्यै मलाई नै भ्रष्टाचारी बनाएर समाचार लेखेको छ। अब अति भयो म नबोली नहुने भयो। हरेक सामानको खरिद प्रकरणमा म एक्लैले निर्णय गर्ने होइन। त्यहाँ टिम हुन्छ। अर्को कुरा कतिपयमा त म कुनै पनि प्रकारले संलग्न नरहेपनि मेरो नाम जोडिएर आएका छन्,' उनले भने।
इम्बोस्ड नम्बर प्लेटमा समेत आफ्नो संलग्नता भएको समाचार बाहिरिएपछि आफूले बोल्नैपर्ने अवस्था आएको उनको भनाइ छ। 'म यातायात विभागमा एक इन्जिनियरको रुपमा ५-६ वर्ष अघि काम गर्न गएको थिएँ। इम्बोस्ड नम्बर राख्ने सम्झौता हुन्जेलसम्म मैले काम गरेको हो। तर त्यहाँ म निर्णयको तहमा नभएकोले त्यसमा संलग्न हुने कुरै भएन,' उनको भनाइ छ।
‘कुनै पनि सरकारी ठेक्का प्रक्रियामा ठेक्का नपाएका ठेकेदार कम्पनीको निशाना सरकारी ईन्जिनियरमाथि हुन्छ, म त्यसैको सिकार भएको हुँ,' पत्रकारसँग उनले भने। सरकारी ठेक्का पाउन नसकेका ठेकेदारले नै आफूलाई विभिन्न आरोपमा मुछेर गलत अफवाह फैलाइदिएको उनको आरोप छ।
'कस्तो प्लेट राख्ने? कतिमा राख्ने भन्ने विषय सबै यातायात व्यवस्था विभागले नै गरेको हो। कस्तो क्वालिटीको प्लेट कसरी राख्ने भन्ने विषयको अध्ययनका लागि इन्जिनियरको एउटा टिम एक महिना अध्ययनका लागि बंगलादेश नै गएको थियो। जुन टिममा म थिइनँ। मेरो कार्यकाल सकिएकोले म आफ्नो काममा लागेको थिएँ। अनि म कसरी त्यहाँ संलग्न भएँ?,' उनले प्रतिप्रश्न गरे।
सम्बन्धित निकायमा मात्र जवाफ दिए पुग्ने आफूलाई लागेकाले सञ्चारमाध्यममा नआएको बताएका उनले भ्रष्टाचारको आरोप लगाएपछि सह्य नभएको बताए। 'अब त सवै कुरामा मलाई नै मुछेर लेख्न थालेपछि नबोली भएन। त्यसैले आज तपाईंहरू (पत्रकार)लाई बोलाएको हुँ,' उनले भने। पत्रकारको प्रश्नको जवाफ दिँदै उनले आफूले हालसम्म जुनसुकै काम गरेपनि कानुनसम्मतः नै गरेको दाबी गरे।
'मेरी श्रीमती अमेरिकामा काम गर्छिन्। सोही आधारमा मलाई अमेरिकी ग्रीनकार्ड छ समेत भनिएको छ। नपत्याए पासपोर्ट हेर्नुस् मेरो वास्ताविकता त्यही थाहा हुन्छ। नेपालको कानुनले श्रीमान् सरकारी जागिरे भएपनि श्रीमती अमेरिकामा जागिर खान जान नदिने भन्ने छैन,' उनले प्रट्याए।
मैले सरकारी कर्मचारीका हैसियतले जागिर खाएको १७ वर्ष भएको आफूले सबै काम कानुनसम्मत नै गरेको बताएका उनले भने, 'यदि काण्डमा मेरो नाम मुछ्ने नै हो भने प्रमाण ल्याएर आउन अनुरोध गर्दछु, प्रमाणित भएको खण्डमा जे सजाय पनि भोग्न तयार छु।’
गोकुल बास्कोटा सञ्चारमन्त्री हुँदा ७० करोड घुसकाण्डको प्रमाण नष्ट गर्ने प्रक्रियामा उनको नाम जोडिएको थियो। तर, त्यो काण्डमा आफ्ने कुनै पनि भूमिका नभएको उनको दाबी छ। 'मलाई त्यतिवेला पनि अमेरिका भागेको आरोप लगाइएको थियो। म किन भाग्ने? श्रीमती भेट्न गएको आएपछि काममा नै छु,' उनले स्पष्ट पारे।
राजनीतिक नेतृत्वलाई रिझाउन सक्ने खुबी उनमा भएको चर्चा गरिन्छ। गोकुल बाँस्कोटाका पालामा केन्द्रको जिम्मेवारी पाएका उनलाई जेठ १६ गते पुनः नियुक्त गरिएको छ। यसमा पनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संलग्नता रहेको बताइन्छ। कार्कीले पौडेललाई नै केन्द्रको कार्यकारी निर्देशक बनाउनका लागि सुरक्षण मुद्रण विकास समिति (गठन) आदेशको दफा ६ को उपदफा ३ नै परिवर्तन गरिएको सम्बद्ध सरोकारवाला बताउँछन्। तर यो कुरा झुटो प्रचार भएको उनको दाबी छ, 'विकल पौडेलको लागि भनेर नीति नै त परिवर्तन हुदैन नि!'
जेठ १२ गते सञ्चारसचिव डा. वैकुण्ठ अर्यालले आदेश संशोधन गरेर सरकारले चाहेमा निर्देशकको पदावधि एक पटकका लागि थप गर्न सकिने व्यवस्था गरेका थिए। यसपछि उनलाई मन्त्रिपरिषदबाट नियुक्ति गरिएको चर्चा भइरहेको छ। तर त्यसमा पनि कुनै सत्यता नभएको उनको तर्क छ।