काठमाडौं– विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ग्रीन सेभिङ पुनः सञ्चालनमा ल्याएको छ ।
हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाईन खाता खोल्ने सेवा, भिडियो केवाईसी र डिजिटल बैंकिङ जस्ता सेवाहरुको सम्मिश्रणले सो खाता पूर्णरूपमा कागजविहीन रहेको बैंकले जनाएको छ। साथै यस खातामा ग्राहकले ८.०३ प्रतिशत ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनि र इन्टरनेट बैंकिङ निःशुल्क प्राप्त गर्न सक्नेछन्।
लक्ष्मी बैंकको एक खाता, एक रुखको प्रतिबद्धता अनुरुप गो ग्रीन अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिङ खाताको बापत बैंकले एउटा रुख रोप्ने गरेको छ।
यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ।