काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन्। आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताएका हुन्।
किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका मन्त्री शर्माले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए। मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए।
‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्यो। सम्मान पनि गर्नुपर्यो। त्यसको सही परिचालन पनि गर्नुपर्यो। किसानहरु हेपिएर देश बन्दैन। कृषिमा काम गर्नेहरुले दुखेसो गर्ने अवस्था आयो भने हामी राष्ट्रलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन सक्दैनौँ। आजको विश्वको ठुलो समस्या भनेकै खाद्यको समस्या हो। हामीसँग हामीलाई पुग्न सक्ने धान उत्पादन गर्न सक्ने हामीसँग खेतहरु छन् पर्याप्त मात्रामा। तरकारी उत्पादन गर्ने बारीहरु छन्। हामीलाई पुग्ने फलफुल रोप्ने बारीहरु, पाखाहरु छन्। हामीसँग कमी छैन। जनशक्तिको समस्या हामीलाई होइ। ठुलो जनशक्ति आज विभिन्न मुलुकहरुमा पठाइरहेका छौँ,' मन्त्री शर्माले भने, 'अभाव हाम्रो एउटा राष्ट्रिय संकल्पको अभाव, नीतिको अभाव, त्यो खालको कार्यक्रमको अभाव हो। त्यो खालका कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको क्षमताको अभाव हो। र किसानहरुलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने, आदर गर्ने संस्कारको, मुल्यमान्यताको अभाव हो। सबै कुरालाई हामीले अब हटाएर कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ। उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ।’
अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताए। ‘अब त कोदालाका बिँड पनि बाहिरबाट आउन थाल्यो। त्यो चाहीँ अब हुँदैन। बिड बनाउनुस् बाहिरबाट आउनुभएन। कुटा यही बनाऔँ बाहिरबाट आउनुभएन। कोदाला यही बनाऔँ बाहिरबाट आउनुभएन। मेसिनरी बनाउनु पनि पर्यो। यो माग नगर्नुस् कि हामी सबै बाहिरबाट ल्याउनुपर्छ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन। हामी बनाउँछौ भन्नुस्। उद्योगहरु सञ्चालन गरौँ। कच्चा पदार्थमा तपाईहरुलाई पर्याप्त छुट हुन्छ। भन्सार लाग्दैन,’ उनले भने।
कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिचाइको व्यवस्था लगायतका कामहरुलाई एकिकृत गरी लैजानु आवश्यक रहेको उनले उल्लेख गरे।