काठमाडौं– सिप्रदी ट्रेडिङ प्रा.लि. का निर्देशक शम्भु प्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन् । ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ’तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ ९ घण्टा २९ मिनेट १४ सेकेण्डमा पूरा गरेका हुन् ।
उक्त म्याराथन ५,३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरू भएको थियो । त्यहाँबाट घोरेपानी, लोबुचे पास, ढुङ्ला पास, डिंबोचे, फिरेची पास, ताकबोचे हुँदै ३,४४० मिटर उचाइमा भएको नाम्चे बजारसम्मको दुरी छ । एभरेष्ट बेस क्याम्प देखि नाम्चे बजारसम्मको कुल दुरी भने ४२.१९५ किलोमिटर रहेको छ । सिप्रदी ट्रेडिङका निर्देशक दाहालले यो दुरी ९ घण्टा २९ मिनेट १४ सेकेन्डमा पार गरेका हुन् ।
हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीद्वारा पहिलो पटक सगरमाथाको सफल आरोहण गरिएको थियो । सन् २०२२ को सोही दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवसको ६९औं वार्षिकोत्सव अवसरमा निर्देशक दाहालले पनि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका हुन् ।
विगत तीन महिनामा निर्देशक दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनसहित तीन वटा म्याराथन सफलतापूर्वक पूरा गरिसकेका छन् । तेन्जिङ हिलारी एभरेष्ट म्याराथन उनको तेश्रोे म्याराथन हो । यसभन्दा अघि निर्देशक दाहालले सन् २०२२ फेब्रुअरीमा भएको ४२.९ किलोमिटरको दुरीको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र ४९ किलोमिटरको दूरी रहेको तेश्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा पूरा गरेका थिए ।
निर्देशक दाहालले आफूलाई म्याराथनमा सहभागी हुन पाउँदा शारीरिक तथा मानसिक हिसाबले स्वस्थ भएको बताए। साथै, शारीरिक र मानसिक रूपले स्वस्थ रहँदा त्यसले आफ्नो सम्पूर्ण उत्पादकता झन् विकास भएको उनको भनाइ छ। ६९ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजिवत तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा २४ विभिन्न राष्ट्रका १४७ जना सहभागी थिए ।
विगत लामो समयदेखि उनले सिप्रदियन सहायता संस्था मार्फत खेलकुद र योसँग सान्दर्भिक कार्यक्रमहरूमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। संस्थाले खेलकुदसँग सम्बन्धित थुप्रै गतिविधिहरूमा सहयोग गर्दै आएको छ । संस्थाले जुम्लास्थित कर्णाली स्पोर्ट क्लबसँगको सहकार्यमा १६ देखि २० वर्ष उमेरका केटाकेटीहरूका लागि ’अल्ट्रा–म्याराथन रनिङ ट्रेनिङ छत्रावृत्ति’ प्रदान गर्दैछ। त्यस्तै, कम्पनीले १२ देखि १३ वर्ष उमेरका केटाकेटीहरूलाई फुटबल ट्रेनिङको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ ।