मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चुनावी सरकारले पनि वार्षिक बजेट नै ल्याउँछ, अर्को कुनै व्यवस्था संविधानमा छैन : अर्थमन्त्री

चुनावी सरकारले पनि वार्षिक बजेट नै ल्याउँछ, अर्को कुनै व्यवस्था संविधानमा छैन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै चुनावी सरकार भए पनि वार्षिक बजेट ल्याइएको बताएका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै चुनावी सरकार भए पनि वार्षिक बजेट ल्याइएको बताएका छन्। 

National life

प्रतिनिधिसभामा सांसदहरुले बजेटबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा शर्माले यस्तो बताएका हुन्। बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको सरकारले वार्षिक बजेट ल्याउन नहुने धारणा राखेपछि शर्माले यस्तो जवाफ दिएका हुन्। एमाले सांसदहरुले पाँच महिना आयु भएको सरकारले वार्षिक बजेट ल्याएको भन्दै आलोचना गरेका थिए।

बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले पाँच महिनाको बजेट बनाउने व्यवस्था संविधानमा नरहेको बताए।  उनले भने, ‘मैले संविधानमा यति महिनाको मात्र बजेट बनाउने भन्ने देखिन, हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि वार्षिक बजेट नै पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेछ। पाँच महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो, ७ महिनाको लेखेको भए पनि त्यसै गर्न हुन्थ्यो तर त्यो संवैधानिक व्यवस्था भेटिएन। त्यसैले यो वार्षिक बजेट नै हो।’

मन्त्री शर्माले निर्वाचन आफ्नो प्रक्रियामा हुने भन्दै निर्वाचनपछि आउने सरकारले पनि यही बजेट कार्यान्वयन गर्ने बताए। ‘बजेट कार्यान्वयनको प्रक्रियामा समग्र रुपले उथलपुथल भएको म देख्दिन। अध्यादेशबाट आएको बजेट हामी कार्यान्वयन गरिरहेका छौं। अहिले पेश गरेको बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्छ।’

सांसदहरुका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले शिक्षामा लगानी बढेको बताए। १२ कक्षा पढिसक्दा सीप सिकेर निस्कने व्यवस्था बजेटमा गरिएको उनले दाबी गरे।

Shivam cement

शक्तिलाई सीपयुक्त बनाउने कुरा बजेटमा राखिएको भन्दै उनले आधारभूत पूर्वाधार बनाएर मेडिकल शिक्षा नेपालमा नै पढाउने व्यवस्था गरिएको बताए। हजारौं डाक्टर बाहिर पढ्न जाँदा घरबाहिर गएकाहरूलाई रोक्न नयाँ योजना बनाइएको उनको भनाइ छ। आईटी शिक्षा र सूचना प्रविधिमा आधारित कुराहरू बजेटमा रहेको मन्त्री शर्माले बताए। 

शर्माले स्वास्थ्य बिमा निजी क्षेत्रलाई नदिएको पनि स्पष्ट पारे। उनले भने, ‘स्वास्थ्य बिमालाई चलाइएको छैन। जहाँ छ त्यहीँबाट सञ्चालन हुने हो। निजी क्षेत्रलाई दिने विषयमा अध्ययन हुन लागेको हो। अध्ययन गरेर केही बिग्रँदैन।’

अर्थमन्त्री शर्माले बजेट निर्माण गर्दा आर्थिक अनुशासनमा रहेको बताए। सदनमा उठेका सवालको जवाफ दिने क्रममा उनले यो बजेट निर्वाचनकेन्द्रित नभएर जनतामुखी भएको प्रष्ट्याए। शर्माले भने, ‘यसभन्दा अघिको बजेट अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हुने गरेकोमा नयाँ बजेटमा ९ प्रतिशत मात्रै रहेको छ।’ बजेट धेरै सचेत र संयमित भएर ल्याएको उनको भनाइ छ। बजेटले तोकेअनुसार ८ प्रतिशत नै आर्थिक वृद्धि हुने उनले दाबी गरे।

अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनमा बजेटले जोड दिएको बताए। आर्थिक समस्या आउन नदिन आन्तरिक उत्पादनमा जोड दिएको उनको भनाइ छ।

बूढीगण्डकी जलविद्युत आयोजनाको काम यही सरकारले सुरू गर्ने मन्त्री शर्माले बताएका छन्। उनले भने, ‘बूढीगण्डकीको काम यही सरकारले सुरू गर्नेछ। आयोजनबाट नै पैसा उठ्ने गरेर कामको सुरू हुनेछ।’



प्रकाशित: Jun 03, 2022| 15:10 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्