काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताएका छन्।
शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले कोरोना कालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको बताए।
‘१–२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज हुन्छ भनेर प्रश्न आउँथ्यो। तर, आजको कार्यक्रममा त्यस्तो प्रश्न आउने अवस्था छैन। पछिल्लो २ वर्षमा नेपालको अर्थतन्त्र व्यापाक रुपमा डिजिटलाइज भएको छ,’ उनले भने।
विशेषगरी भुक्तानी प्रणालीमा डिजिटलाइजेशको व्यापक रुपमा विकास भएको उनको भनाइ छ। ‘पहिला डोकोमा नोट बोकेरमा जिल्लामा पुर्याउनुपर्थ्यो। तर, अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘कोरोनापछि भने भुक्तानी प्रणालीमा नयाँ मोड आएको छ। यसको लागि भिसा, मास्टर कार्ड, नेपालका प्रक्डट डेभलपरहरु, बैंक तथा वित्तिय संस्था, भुक्तानी सेवा प्रदायक कम्पनीहरुको महत्वपूर्ण योगदान छ।’ सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंक मार्फत हुनु पनि आफैँमा उपलब्धीमूलक रहेको उनको भनाइ छ।
‘मैले २०७७ पुस १० गते नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्ट सुविधाको उद्घाटन गरेको थिए। त्यसबेला छोटो समयमै नेपालीको भुक्तानी प्रणाली यो स्तरमा आउला भन्ने थिएन,’ उहाँले थपे, ‘आजको दिनसम्म आउँदा अधिकांश क्षेत्रमा अनलाइन भुक्तानीको सुविधा विस्तार भएको छ। म केही समयअघि हलेसी मन्दिरमा जाँदा बाटोमा कतै पनि नगद पैसा झिक्न परेन। मोबाइलबाटै पेमेन्ट गर्ने सुविधा थियो। यो नै डिजिटल भुक्तानीमा भएको ठूलो उपलब्धी हो।’
नेपाललाई पूर्ण डिजिटलाइज तथा पेपरलेस बनाउन भने बाँकी नै रहेको उनको भनाइ छ । ‘हामी यत्तिमै सन्तुष्ट भएर बस्न हुनु हुँदैन। डिजिटल भुक्तानीदेखि सिंगो अर्थतन्त्रलाई अझ डिजिटलाइज बनाउन बाँकी नै छ। मोबाइल नचलाउने, इन्टरनेट नहुने ठाउँमा कसरी डिजिटल पेमेन्ट विस्तार गर्ने भनेर पनि सोच्नुपर्ने छ,’ उनले भने, ‘डिजिटल करेन्सी ल्याउने विषयमै काम गर्न बाँकी छ। यसमा हामीले अध्ययन पनि गरिरहेका छौं। निश्चित समयपछि बैंकको कार्यालय कहाँ छ भन्ने पनि थाहा नहोस्। सबै काम डिजिटल माध्यमबाटै होस्।’