काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकले बनाउने बिनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन्।
विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताए। ‘केही विनियमसँग सम्बन्धित कुरा बाँकी छन्। जसको लागि सबै युनियनहरुको फिडब्याकसहित बिनियमको ड्राफ्ट बनिसकेको छ र हामी सञ्चालक समितिमा छलफलको प्रक्रियामा छौँ। त्यहाँभित्र पक्कैपनि वृत्ति विकास लगायतका कुराहरु र केही करेक्सनका कुरा, अनुभवको आधारमा गर्नुपर्ने करेक्सन छन्। धेरै ठुलो संशोधन पनि छैन। हामी यसमा गहन मन्थनमा छौँ। छलफलमा छौँ। म यत्ति कुरो यहाँहरुलाई राख्न चाहान्छु, हामीले पास गरिराख्ने संशोधन रिग्रेसिभ हुने छैन। पहिलेको जुन विनियमावली छ, त्यो भन्दा कुनै सेवा, सुविधा अथवा कुनै किसिमका वृत्ति विकासका व्यवस्थाहरु घटेर त्यसबाट आउने छैन। आशा गरौँ त्यो राम्रो हुनेछ। सकारात्मक हुनेछ।’
राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताए। बैंकका कर्मचारीले गलत काम नगरेको भन्दै उनले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गरेका छन्।