काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानका लागि ‘इनरुट’ मौसमको पूर्वानुमान गर्न नसक्ने बताएपछि अन्योल बढेको छ। विभागले सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भनेजस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको हो।
यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले बताएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले अन्तर्राष्ट्रिय हवाई उडानका लागि भने आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ। तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ।
आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचनामात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङमात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ।
सरकारले १५ जेठमा तारा एयरको विमान दुर्घटना भएपछि इनरुट मौसम सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ। सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएको छ।
हवाई दुर्घटना कम गर्न ल्याइएको यो नयाँ नियमका कारण बुधबार बिहानैदेखि त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्। भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण काठमाडौंबाट ‘स्टल सेक्टर’मा हुने कुनै पनि उडान हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन्।
मौसम सफा भए पनि ‘इनरुट’को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योल भएको बताइएको छ। मौसम पूर्वानुमान विभागले काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको छ।
निजी वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग तत्काल पर्वतीय उडानका विमानस्थलमा इनरुट मौसमको जानकारी दिने पूर्वाधार खडा गर्न माग गरेका छन्। वायुसेवा सञ्चालक संघले मौसमको जानकारी दिने निकाय नै अलमलमा पर्दा उडानमा समस्या आएको उल्लेख गर्दै तत्काल समाधान निकाल्न वा निर्णय सच्याउन माग गरेका छन्। हिमालय र पहाडी उडान हुने विमानथस्लमा अहिलेसम्म पनि इनरुट मौसमको जानकारी दिने पूर्वाधार नभएको उल्लेख गर्दै तत्काल पूर्वाधार खडा गर्न संघले माग गरेको छ।
वायुसेवा कम्पनीहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएका मापदण्डहरुको पूर्ण परिपालना गर्दै आइरहेको समेत संघले विज्ञप्तिमार्फत जनाएको छ। सबैको सहयोगमा नै नेपालले हवाई सुरक्षमा समेत प्रगति हासिल गरेको उल्लेख गर्दै नेपालको जटिल भूबनोट तथा खासगरी हिमाली भेगमा छिटो छिटो मौसम परिवर्तन भइरहँदा पूर्वानुमान गरिएभन्दा मौसम प्रतिकूल हुने अवस्था आउने र हवाई दुर्घटनाका सम्भावना रहने गरेको छ।
हाल जल तथा मौसम विज्ञान विभागले काठमाडौं तथा भैरहवामा आधा–आधा घण्टामा र अन्य यान्त्रिक उडान अर्थात् आईएफआर सुविधा उपलब्ध भएका ८ वटा विमानस्थलमा १–१ घण्टामा मौसम सम्बन्धी जानकारी जारी गर्ने गरेको छ।
इनरुट मौसमको हकमा भने अन्तर्राष्ट्रिय उडानका लागि १८ हजार मिटरमाथिका मौसमी जानकारी गराउने गरिएको छ।
इनरुट भनेको जहाज उड्ने विमानस्थल र ल्यान्ड गर्ने विमानस्थलको बीचमा पर्ने रुटको मौसम हो। यसअघि विमान कम्पनीहरुले दुई विमानस्थलको मौसम सफा भए उडान गर्न पाउँथे। अब भने प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको पनि मौसम सफा भएमात्रै उडान अनुमति दिने निर्णय प्राधिकरणले गरेको हो।
पहिले उडान गर्ने विमानस्थल र गन्तव्य विमानस्थको मौसम हेरेर उडान अनुमति दिइँदै आएको थियो। अब प्रस्थान र गन्तव्य विमानस्थलको मात्रै मौसम सफा भएर हुँदैन, गन्तव्यको ‘इनरुट’मा पर्ने स्थानको पनि मौसम ठिक छ कि छैन, मौसम विभागबाट निश्चित भएपछि मात्रै उडान अनुमति दिइनेछ।
सोमबार उक्त निर्णय गरेको प्राधिकरणले त्यसलाई कडाइका साथ लागू गरिने बताएको छ।