काठमाडौं– पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आर्यघाट पुग्न सक्ने टिप्पणी गरेका छन्।
उनले चुनावलाई लक्षित गरी बजेटमा सपना नै सपना बाँडिएको र चुनावपछि सरकार परिवर्तन हुँदा अर्को सरकारले यही बजेट बोक्ने हो कि आर्याघाट पुर्याउने हो भन्न नसकिने बताएका हुन्।
बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले यो बजेटले अहिले देशले भोगिरहेको समस्या समाधान नभएर थप समस्या चर्काउने देखिएको बताए। उनले अहिले नै तरलताको अभावका कारण ऋण नपाएर उद्योगी–व्यवसायी रुँदै हिँडिरहेको बेलामा झन् सरकारले आन्तरिक ऋण उठाएर थप समस्या चर्काउने दाबी गरे।
त्यस्तै उनले वृद्धभत्ताको जतिसुकै कुरा गरे पनि त्यो एमालेको ब्राण्ड भएको दावी गर्दै उमेर घटाए पनि सो माओवादीले गरेको नहुने दाबी गरे। उनले भने, ‘जनयुद्ध र राष्ट्रिय मेलमिलापमा एमालेको दाबी पुग्दैन। तर वृद्धभत्ता एमालेको ब्राण्ड हो। जति गरेपनि अरु पार्टीको हुनै सक्दैन।’ त्यस्तै उनले अर्थमन्त्री जनार्दन शर्मालाई घोषणापत्रमा ५ हजार पुर्याउने भनेर लेखिए पनि वृद्धभत्ता किन नपुर्याएको भनेर प्रतिपश्न गरे।
उनले हालको चुनौतीलाई कुनै ख्याल नगरी ८ प्रतिशत आर्थिक वृद्धि, ७ प्रतिशतमा मूल्यवृद्धि सीमित गराउने र ५ वर्षमा व्यापारघाटा ब्यालेन्समा पुर्याउने कुरा सबै कोरा कल्पना मात्र भएको बताए। पाण्डले भने, ‘एकातिर निर्यात बढाएर डलरको आय बढाउँदै व्यापारलाई ब्यालेन्समा राख्ने भनिए पनि १२ खर्बको राजस्व उठाउने लक्ष्यले आयात जति मन लाग्छ उति गर भनेको देखियो। यदि त्यस्तो भएमा नेपालको बिओपीमा दबाब पर्छ, जसले डलर सञ्चितिमा समस्या ल्याउँछ। यो व्यवस्था नै एक आपसमा विरोधाभाष छ।’
त्यस्तै उनले अधिकांश आयोजनाहरुको जिम्मा निजी क्षेत्रलाई दिइने व्यवस्थाको विरोध गरे। ‘हामीले कुलेखानी र भिमफेदी सुरुङ मार्ग आयोजनालाई नै हेरौं न, ती आयोजना कहाँ पुगे? अनि कसरी निजी क्षेत्रलाई दिन सकिन्छ? उनले प्रश्न गरे।
त्यसैगरी संघले पालिकाहरुलाई यहाँ बजेट राख यहाँ नराख भन्न नसक्ने दाबी गर्दै उनले बजेटमा सपना बाँडिएको बाहेक अरु कुरा नभएको बताए। सरकारले प्रत्येक पालिकास्तरमा ३ सय स्वयंसेवक तयार गर्ने भनेकोमा त्यसको बजेट कहाँबाट आउँछ भनेर पनि उनले प्रश्न गरे। ‘त्यसरी हेर्दा २ लाख २५ हजार स्वयंसेवक तयार हुनेछन्, त्यसको खर्च कुन सरकारले व्यहोर्ने हो? यसबारे स्पष्टता छैन,’ उनले भने।
पाण्डेले केही दिनअघि अर्थमन्त्रीसँगको भेटमा भएको कुरा सम्झँदै इन्डक्सन चुलोको लागि ५ खर्ब पूर्वाधारका लागि चाहिने भएकोले सम्भव नहुने भनिएकोमा १५ दिनमा नै कसरी सम्भव भयो भनेर जान्न मन लागेको बताए। त्यस्तै उनले इन्डक्सनका लागि कमसेकम १५ एम्पायर विद्युत लाग्ने र यो धनी पोस्ने कुरा मात्र भएको दावी गरे। ‘६० लाख परिवारलाई इन्डक्सन चुल्हो दिने भनिएको छ, यसका लागि कम्तीमा ३० अर्ब रुपैयाँ खर्च हुँदो रहेछ। कतै सरकारले आगामी चुनावी खर्च उठाउन खोजेको त होइन?’ उनले प्रश्न गरे।
त्यस्तै, मल नभएको बेलामा कृषि उत्पादन दोब्बर गर्ने सपना बजेटमा उल्लेख गरिएको भन्दै उनले १५ अर्बले मलको लागि नपुग्ने बताए। इलेक्ट्रिक भेइकलमा अन्तःशुल्क लगाइएको प्रति पनि उनको असहमति छ। ‘प्रदूषण गर्ने वस्तुमा मात्र अन्तःशुल्क लगाइन्छ। इलेक्ट्रिक भेइकलले कसरी प्रदूषण गर्छ? बजेटले १०० किलोवाटभन्दा तलका इलेक्ट्रिक भेइकलको आयातलाई भने अन्तःशुल्क नलाग्ने भनिएको छ। यो व्यवस्था टाटा कम्पनीलाई सहयोग पुग्ने गरी ल्याइएको त होइन?’ पाण्डले भने।
सेनिटरी प्याडमा दिइएको भन्सार छुटको पनि उनले विरोध गरे। ‘सेनिटरी व्याडमा ९० प्रतिशत भन्सार छुट दिँदा नेपालका सेनिटरी प्याड उत्पादन कम्पनीको सुरक्षा कसरी हुन्छ? यसैगरी राष्ट्रिय उद्योगको विकास हुन्छ?’ उनको आक्रोश थियो।
पूर्वअर्थमन्त्री पाण्डले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले समान रुपमा बढ्नु न्यायोचित नभएको बताए। महँगीको हिसाबमा कर्मचारीको तलब वृद्धि ठिकै भए पनि सबै वर्गका कर्मचारीको समान रुपमा तलब वृद्धि हुनु न्यायोचित नभएको तर्क उनले गरे।
उनले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गरे। गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उनले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको जिकिर गरे।
उनले भने, ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ। कांग्रेसलाई छिटोभन्दा छिटो झुण्डिएका सबै गलगाँड यहाँबाट कहिले यसको पिण्ड चुँडाउने भन्ने छ। चुनाव भएदेखि यसको गलगाँड छुट्थ्यो कि भन्ने छ– सतीदेवीको अंगपतन भएको जस्तो। चुनावपछि यी सबै कसले हात समातेको छ, कसले खुट्टा समातेको छ। ती सबै त्यहाँबाट छुट्टिएर जानेछन्। कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ। त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु।’