बुधबार, असार १०, २०८३

'बजेट होइन, गठबन्धनको चुनावी घोषणापत्र आएको छ'

जेठ १५ गते संसद् बैठकमा प्रस्तुत भएको वार्षिक बजेटमाथिको छलफल आजबाट प्रतिनिधिसभामा सुरु भएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– जेठ १५ गते संसद् बैठकमा प्रस्तुत भएको वार्षिक बजेटमाथिको छलफल आजबाट प्रतिनिधिसभामा सुरु भएको छ।

National life

छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको बजेट बजेटजस्तो नभएर सत्तारुढ गठबन्धन सकारको घोषणापत्र भएको आरोप लगाए।

मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यसहित बजेट आएको दाबी गर्दै उनले भने, ‘यो बजेट खासमा बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्रजस्तो, चुनावी प्रचारजस्तो छ। यो मतदातालाई भ्रममा पारेर भोट बटुल्ने उद्देश्यले आएको छ।’

राज्यको शक्ति र राज्यको स्रोतलाई दल विशेष वा गठबन्धनको हितमा दुरुपयोग गर्न नपाइने पौडेलले बताए। ‘मतदाता रिझाउनका लागि बजेट ल्याइएकोले राज्यको मर्ममाथि नै प्रहार गरिएको छ,’ पौडलले भने।

नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने बाटोतर्फ बजेट उन्मुख हुन नसकेको उनले बताए। व्यापार घाटा उच्च रुपमा बढ्दै गएको, विदेशी मुद्राको सञ्चिति जोखिमको स्तरमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा माथि पुगेको, शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब पुगेको, मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको, पुँजीगत खर्च निरासाजनक रहेको, तरलता अभाव कहालीलाग्दो अवस्थामा पुगेको, सरकारले तिर्नैपर्ने ऋण १८ खर्ब ४८ अर्ब पुगेको, आन्तरिक र बाह्य ऋणको साँवा र ब्याज गरी आगामी आर्थिक वर्ष १ खर्ब ८७ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको बताउँदै उनले मुलुकको अर्थतन्त्र भयानक आर्थिक संकटको डिलमा पुगेको र कुनै पनि बेला डिलबाट खस्न सक्ने जोखिम रहको बताए। 

Shivam cement

आगामी मंसिरमा प्रतिनिधिसभा र सरकार दुवैको कार्यकाल सकिने भए पनि चुनावबाट निर्वाचित  भएर आएजस्तो गरेर बजेट प्रस्तुत गरिएको पौडेलले बताए। 

‘यस सरकारले बोकी नसक्नुको आर्थिक दायित्व सिर्जना गरेको छ। यो बजेट आगामी आर्थिक वर्षको ५ महिनाका लागि प्रशासनिक खर्च, चालू आयोजनाको निरन्तरता र आगामी निर्वाचनको केन्द्रित हुनुपर्ने थियो। अर्थतन्त्र देखिएको समस्या समाधान गर्नका लागि केन्द्रित हुनुपर्नेमा सस्तो लोकप्रियताका लागि बजेट प्रस्तुत भएको छ,’ उनले भने।

लोकप्रियताका लागि अनुकूल ठानिएका र विना तयारीका दिर्घकालिन योजनाहरुको चाङ लगाइएको आरोप पौडेलले लगाएका छन्।

अर्थमन्त्रीले बजेटमार्फत प्रस्तुत गरेको ७ प्रतिशतको मुद्रास्फीति र ८ प्रतिशतको आर्थिक वृद्धिदर हावादारी गफ भएको पौडेलले बताए। ‘अर्थमन्त्रीज्यूले मुद्रास्फीतिलाई ७ प्रतिशतमा राख्छु भनेर घोषणा गर्नुभएको छ। अहिले नै मुद्रास्फीति ७ प्रतिशतबाट उकालो लागिसकेको छ। आर्थिक वृद्धिदर ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत हुन्छ भनिरहँदा अहिले हिसाब गर्दा पनि कति प्रतिशत हुन्छ भन्ने थाहा हुन्छ,’ उनले भने। 

अन्तर्राष्ट्रिय रुपमा बढेको इन्धनको मूल्यका कारण मूल्यवृद्धि अकासिएकाले ७ प्रतिशतभित्र मुद्रास्फीति कायम हुनै नसक्ने ठोकुवा उनले गरे। नेपालको उत्पादन रातारात नाटकीय ढंगले जादूमयी तरिकाले वृद्धि हुन नसक्ने तर्क पौडेलको छ।

प्रस्तुत बजेटले दैनिक ज्यालामजदुरी गर्ने र न्यून आय भएका व्यक्तिको जीवनस्तर थप कठिन बनाउने धारणा उनले प्रस्तुत गरे। गरिबी नेपालको साझा दुस्मन रहेकाले यसको निराकरणका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै पौडेलले सरकारले ८ लाख गरिबी निबारण गर्ने लक्ष्य प्रस्तुत गरेर गरिब जनतालाई आशामात्रै देखाउने काम गरेको बताए।

प्रकाशित: May 31, 2022| 11:56 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्