काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नै चार लाख नेपाली श्रमका लागि इजाजत लिएर विदेश गएका छन्। २०७८ को साउनदेखि २०७८ फागुनसम्मको अवधिमा नै ४ लाख १२ हजार ७८७ जना नेपाली नयाँ तथा पुन: श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक आर्थिक सर्वेक्षण २०७८/७९ ले उल्लेख गरेको हो।
२०७८ फागुन मसान्तसम्ममा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ५६ लाख ६५ हजार २२६ पुगेको छ। श्रम स्वीकृति लिएर विदेश जानेको तथ्यांक राख्ने गरिएको भएपनि उनीहरूमध्ये हाल कति जना फर्किए र कति चाहिँ विदेशमा नै भन्ने यकिन तथ्यांक सरकारसँग छैन।
हालसम्म ५३ लाख ४८ हजार ८ १४ जनाले श्रम स्वीकृति लिएका छन् भने महिलाको सङ्ख्या ३ लाख १६ हजार ४१२ छ।
समीक्षा अवधिमा साउदी अरेबिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा धेरै छ। २०७९ फागुनसम्ममा १ लाख ३१३ जना रोजगारीका लागि विदेशिएका छन। दोस्रो स्थानमा रहेको कतारमा काम गर्न जानेको संख्या ५८ हजार २५ छ। नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्यमा मलेसिया, यूएई र कुवेत छन्।
यस्तै चालु आवको फागुनसम्मको ८ महिनामा कामका लागि विदेश गएकामध्ये १ हजार १७१ जनाको मृत्यु भएको सर्वेक्षणमा उल्लेख छ। सरकारले विदेशमा मृत्यु भएका श्रमिकका नजिकको हकदारलाई ७ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। वैदेशिक रोजगार विभागमार्फत् यस वर्ष विदेशमा मृत्यु भएका नेपाली कामदारका हकवालालाई ५७ करोड ९६ लाख रुपैयाँ प्रदान गरिएको छ।
यस्तै विदेशमा अलपत्र परेका ४६ जना श्रमिकलाई कल्याणकारी कोषमा जम्मा भएको रकम प्रयोग गरी स्वदेश फर्काइएको छ। आव २०७०/७१ देखि हालसम्म ८ हजार १०४ जनाको वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएको छ। यसका लागि सरकारले ३ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ मृतकका निकट हकवालालाई प्रदान गरिएको सर्वेक्षणमा उल्लेख छ।
२०७८ फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि ८७८ म्यानपावर कम्पनीले इजाजतपत्र पाएका छन्। संस्थागत रुपमा ११० देश र व्यक्तिगत रुपमा १७८ देशमा नेपाली कामदार जान पाउने व्यवस्था सरकारले गरेको छ।
वैदेशिक रोजगारीसम्बन्धी आव २०७८/७९ मा ९६८ वटा उजुरी दर्ता भएको छन्। संस्थागततर्फ ५६८ वटा र व्यक्तिगततर्फ ४ सय उजुरी दर्ता भएको विभागले जनाएको छ। उजुरीमा ३४ करोड ७० लाख ४५ हजार १ सय ६० रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ।