काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ विमानस्थलका विषयमा अध्ययन गरी आवश्यक निर्णय लिइने बताएका छन्। प्रधानमन्त्री देउवाले शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा निजगण विमानस्थलका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिने बताएका हुन्।
उनले भने, 'निजगढका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिइने छ।'
यसअघि सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको थियो। सर्वोच्चको बृहत पूर्ण इजलासले बिहीबार सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो। विमानस्थल निर्माणका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र त्यसलाई ससर्त स्वीकार गर्ने वन मन्त्रालयको निर्णयलाई पनि बदर गरिदिएको छ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने सरकारी निर्णयहरू बदर गरिदिएको हो।
अदालतले लिखित फैसला भने उपलब्ध गराएको छैन। तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करीब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव थियो। वातावरण संरक्षणका लागि क्रियाशिल व्यक्ति तथा संस्थाहरूले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरण र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्याउने भन्दै यो योजनाको विरोध गर्दै आएका थिए।