काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। बैंक र बीमा कम्पनीले शुक्रबार एक कार्यक्रमका बीच औपचारिक सम्झौता सम्पन्न गरेका हुन् ।
सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका हुन्। यो सँगै दुई वर्ष सेवा अवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ। सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ। यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए। पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबिचको सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउँदै लैजाने बताए ।