काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि अध्ययन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ।
उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले अल्पकालीन र दीर्घकालीन समस्या समधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको जानकारी दिएका छन्। समितिको सिफारिसमा इन्धनको मूल्य घटाउनेदेखि विकल्पहरूमा काम अगाडि बढाइने उनले जानकारी दिए।
उपभोक्तालाई राहत दिनका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर मूल्य घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएको मन्त्री बडूले बताए। 'पेट्रोलियम पदार्थको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन विकल्प के हुनेछ भन्ने विषयमा अर्थमन्त्रालयले गृहकार्य गरिरहेको छ,’ उनले भने।
अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा तथा सिँचाइ र उद्योग मन्त्रालयका सचिव तथा विज्ञसमेत रहने गरी उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।