काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातलाई थप कसिलो बनाउने संकेत गरेको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा आयातलाई थप कडाइ गर्ने बताएको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै भनेको छ, 'मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत् रहेकोले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ। तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ।'
राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि आयातमा कडाइ गरेको थियो भने वाणिज्य बैंकलाई एलसी नखोल्न मौखिक निर्देशन नै दिएको थियो। त्यस्तै मूल्यमा चाप परेपछि राष्ट्र बैंकले ब्याजदर बढाउनका लागि पनि बैक तथा वित्तीय संस्थाहरूलाई दबाब दिएको थियो।
अर्थशास्त्री दृष्टिकोणमा ब्याजदरले कहिल्यै पनि मूल्य बढाउँदैन, मूल्य नियन्त्रणका लागि सहयोग पुग्नेछ । त्यसैले पनि राष्ट्र बैंकले मूल्यवृद्धि हुँदै गएपछि बैङ्कहरूलाई ब्याजदर बढाउन दबाब दिएको थियो।
त्यस्तै राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरू प्रयोग गर्ने पनि जनाएको छ। त्यस्तै राष्ट्र बैंकले पहिलेकै नीतिहरूलाई यो त्रैमासमा पनि निरन्तरता दिने नीति अख्तियार गरेको छ।