सोमबार, असोज १२, २०८३

धादिङ–काठमाडौं सुरुङमार्गको म्याद थपियो

धादिङको सिस्ने खोलादेखि काठमाडौंको सतुंगल जोड्ने निर्माणाधीन सुरुङमार्ग आयोजनाको म्याद थपिएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– धादिङको सिस्ने खोलादेखि काठमाडौंको सतुंगल जोड्ने निर्माणाधीन सुरुङमार्ग आयोजनाको म्याद थपिएको छ। समयमा पूरा नहुने देखिएपछि आयोजनाको म्याद ८६ दिन थपिएको हो।

कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो। कम्पनीले ४१६ दिन म्याद थप गर्न प्रस्ताव गरेकोमा आयोजना कार्यालयले करिब तीन महिना मात्र म्याद थप गरिदिएको हो। लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजनाले जनाएको छ।

सुरुङमार्गको औपचारिक निर्माण ०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। हालसम्म सुरुङ खन्ने काम ५२ प्रतिशत सकिएको छ भने अन्य संरचनासमेतको समग्र भौतिक प्रगति साढे ३६ प्रतिशत पुगेको छ।

मुख्य सुरुङको लम्बाइ २ हजार ६८८ मिटर रहेकोमा हालसम्म १ हजार २ सय मिटर काम सकिएको छ। तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, दुई वटा ओभरपास, फ्लाइओभर लगायत करिब १२ वटा अन्य भौतिक संरचना निर्माण गर्नुपर्नेमा १० वटा बनिसकेको आयोजनाले जनाएको छ।

आयोजनाको ठेक्का १५ अर्ब र मुआब्जा ६ अर्ब रूपैयाँभन्दा बढी गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ।

प्रकाशित: May 26, 2022| 17:32 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्