बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो : ओली

नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भएको टिप्पणी गरेका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भएको टिप्पणी गरेका छन्। अहिलेको गठबन्धन सरकार पनि जेरीजस्तै गुजुल्टिएको, अलमलिएको भएको ओलीले बताए। 

National life

‘सरकारको नीति तथा कार्यक्रम तेलमा मात्र तारेको जेरीजस्तो छ, जुन चास्नीमा डुबाइएको छैन। भाषिकदेखि अन्य अशुद्धता त झन् कति हो कति। नीति तथा कार्यक्रमको एउटै बुँदामा पनि कुराहरु बाझिएका छन्। गठबन्धनका पार्टीहरुले अलगअलग ठाउँमा तयार पारेर ल्याएर जोडेजस्तो देखिएको छ। बुँदा नम्बर ७३ र ७७ हेर्दा अरु बुँदाको अनुमान पनि सहजै गर्न सकिन्छ,’ ओलीले भने।

नीति तथा कार्यक्रमको विषयमा प्रवेश गर्नुअघि ओलीले स्थानीय निर्वाचनमा सरकारले धाँधली र षड्यन्त्र गरेको आरोप लगाए।  निर्वाचन हिंसात्मक भएको भन्दै उनले स्वार्थका लागि लोकतन्त्रको धज्जी उडाउने काम भएको बताए। ‘०१५ सालदेखिका निर्वाचनको अभ्यास हेर्ने मौका पाएको छु। हामी पछिल्लो समयमा निर्वाचनमा राम्रैसँग सहभागी भएका छौं। पञ्चायतकालमा जनपक्षीय निर्वाचन भनेर सहभागी भएका थियौं। तर, यस्तो नांगो ढंगले कब्जा गर्ने काम पञ्चायतमा पनि हुन्थेन,’ उनले भने।

प्रतिपक्षी सिध्याउने उद्देश्यका साथ निर्वाचनमा मोर्चाबन्दी भएको उनको आरोप छ। विश्वमा यस्तो रणनीति कतै नहुने उनले दाबी गरे। राणाशासनदेखि लोकतन्त्रका लागि लडेर आएको पार्टीलाई सिध्याउँछु भन्नु दुखद् भएको ओलीले बताए। 

नीति तथा कार्यक्रमको १४४ औं बुँदामा सबै नेपालीबीच सद्भाव र सहमति हुनुपर्छ भन्ने लेखिएको तर एमालेलाई पत्तासाफ गर्ने नीति लिइएको आरोप उनले लगाए। एमालेका कार्यकर्तमाथि हातपात हुँदा पनि मुद्दा, उजुरी कुनै नलागेको उनले बताए।

Shivam cement

नीति तथा कार्यक्रम सरकारको अस्थिरताको घोषणापत्र भएको टिप्पणी ओलीले गरे। बुँदा नम्बर १३६ ले भ्रष्टाचारलाई प्रवर्द्धन गर्न खोजेको आरोप उनले लगाए। ‘अर्थ र बर्थ गोविन्द गाई भनेजस्तै छ यो नीति तथा कार्यक्रम। बजेटको पूर्वसंकेतको रुपमा आएको छ यो। जसमा भ्रष्ट मनशाय आएको छ, अनुत्तरदायी प्रवृति आएको छ। त्यो बजेटमार्फत प्रष्ट हुनेछ। सरकारले त्यसलाई असत्य सावित गर्नसक्छ भने गरोस्,’ उनले भने, ‘यो पपुलिस्ट दस्तावेज मात्रै हो। यसले देशमा अस्थिरताका संवाहक शक्तिलाई बलियो पार्नेगरी आएको छ। यो सरकारको अस्थिरताको घोषणापत्र हो।’

नेपाली राजनीतिमा थुप्रै शकुनी र मन्थरा षड्यन्त्ररत रहेको आरोप उनले लगाए। उनीहरूले एमालेलाई परास्त गर्न अनुचित गर्न षड्यन्त्र गरेको उनको भनाइ छ। पासो फालेर गठबन्धनको सरकार बनेको र त्यस्तो सरकारले ल्याएको नीति कार्यक्रम त्यसैको प्रतिविम्ब जस्तो रहेको उनले बताए।

सत्ता गठबन्धनले जस्तोसुकै हानिकारक नीति लिए पनि स्थानीय तहमा लोकतन्त्रको अनुभूति दिलाउने स्थानीय तहमार्फत विकासको अनुभूति दिने र जताको सुखदुःखमा साथ दिने निकाय भएकाले फराकिलो मनका साथ काम गर्न निर्वाचित जनप्रतिनिधिलाई उनले आग्रह गरे।

प्रकाशित: May 26, 2022| 11:37 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्