काठमाडौं- काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ करदाताको विवरण सार्वजनिक गरेको छ।
महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा तथा सम्पत्ति कर बुझाउनका लागि पटक पटक ताकेता गर्दा पनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना निकालेको हो।
‘विगत समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण सहित बुझाउन बाँकी कर जरिवाना समेत दाखिला गर्नुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐनको दफा १२ बमोजिम कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबै करदाताहरूमा जानकारी गराइन्छ।’
