काठमाडौं- सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित बनेको छ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंका अध्यक्षहरुले आगामी वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफूहरूका माग सम्बोधन हुने विश्वास लिँदै उत्साहित बनेका हुन्।
महासंघ अध्यक्ष शेखर गोल्छाले आफूहरूका माग बजेटमा समावेश हुने संकेत नीति तथा कार्यक्रममा देखिएको उल्लेख गरेका छन्। 'सरकारको नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ। निजी क्षेत्रलाई दिएका सुझाव बजेटमा समावेश हुने संकेत यसपटकको नीति तथा कार्यक्रमले गरेको छ,' उनले ट्विटरमा लेखेका छन्, 'निजी क्षेत्रको महत्वलाई बढावा दिइएको छ । पुर्वाधार र कृषिलाई दिइएको प्राथमिकताले पनि उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि सहज हुनेछ।'
यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने गरी आएको प्रतिक्रिया दिएका छन्।
अग्रवालले औद्योगिकरणका लागि सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको बताए। परिसंघको माग अनुसार उद्योगमा जग्गाको हदबन्दीलगायतका विषय बजेटमा सम्बोधन हुने उनको प्रतिक्रिया छ।
परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ।