काठमाडौं– सरकारले राष्ट्रियष् गौरवको बूढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा निर्माण गर्ने बताएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन्।
यसैगरी पश्चिम सेती जलविद्युत आयोजना, अरुण तल्लो जलविद्युत परियोजना र सेती रिभर ६ को निर्माण कार्य समेत सुरु गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्।
उर्जा विकासको दीर्घकालिन अवधारणबमोजिम विद्युत उत्पादन, वितरण र प्रशारण प्रणाली विस्तार गर्न दुई पक्षिय विद्युत व्यापार, राष्ट्रिय प्रसारण लाइनको समन्वयात्मक उपयोग र संस्थागत सहयोगको क्षेत्रमा उपलब्ध अवसरको उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। आगामी २ वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गरिने बताइएको छ। सरकारी र निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना निर्माण सम्पन्न गरी थप ७१५ मेगावट जलविद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताइएको छ।