काठमाडौं– सरकारले सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएकी हुन्।
उनले विभिन्न मुलुकमा पनि नेपाली हवाई सेवा कम्पनीहरुले सेवा प्रवाह गर्नका लागि सरकारले सम्झौता गर्ने पनि जानकारी दिइन्।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ देखि निर्माण सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा तयार गरिने पनि राष्ट्रपति भण्डारीले जानकारी दिइन्।
आगामी वर्ष चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगन्ज र धनगढीमा रहेको विमानस्थलमा सुविधाजनक टनेल निर्माण गर्ने, हवाई सेवालाई विस्तार र गुणस्तरीय बनाउने, हवाई क्षेत्रका सम्पूर्ण नियमहरु परिपालना गराउँदै अन्तर्राष्ट्रिय उडानका लागि नेपालका हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गर्ने पनि आगामी आर्थिक वर्षको लागि सरकारको नीति रहेको छ।
हवाई क्षेत्रको नियमन क्षमताको वद्धि र नविन प्रविधिको प्रयोगलाई बढाउँदै लगिने र निजी क्षेत्रका हवाई कम्पनीहरुलाई काठमाडौं बाहिर पनि उडान गर्न दिइने व्यवस्था सरकारले गर्ने भएको छ।