काठमाडौं– सरकारले उद्योगमैत्री वातावरण निर्माण गर्न विशेष कार्यक्रम ल्याउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योगमैत्री वातारण निर्माण र व्यावसायिक वातावरण सुधार र आधारभूत पूर्वाधारमा सरकारको लगानी बढाइने उल्लेख छ।
निजी क्षेत्रलाई उत्पादनमूलक उद्योगको स्थापना, सञ्चालन र उत्पादनका लागि आगामी बजेट मार्फत प्रोत्साहन गरिने राष्ट्रपतिले बताएकी छन्।
उद्योग क्षेत्रमा थप आयआर्जन र रोजगारीको अवसर बढाइने नीति तथा कार्यक्रममा भनिएको छ। कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई ओद्योगिक उत्पादनमा जोड्न ‘फार्म टु इन्डष्ट्री’ एकीकृत नमुना कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
सफा प्रविधि मार्फत औद्योगिकरण गरी आन्तरिक उत्पादन तथा उत्पादकत्व वृद्धिका कार्यक्रमहरु कार्यान्वयन गर्दै जाने नीतिहरु अगाडि बढाउने बताइएको छ। जलविद्युत, उर्जा तथा नवीकरणीय उर्जा विकासका लागि आगामी नीति तथा कार्यक्रम मार्फत प्रोत्साहन गरिने भएको छ।