काठमाडौं– सरकारले पशुपन्छीका लागि आवश्यक पर्ने भ्याक्सिन देशमै उत्पादन गर्ने नीति लिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा देशमै भ्याक्सिन बनाउने कुरा उल्लेख छ।
देशमै भ्याक्सिन बनाउन सके पशुपन्छीको बिरामलाई कम गर्न सहयोग पुग्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यस्तै, अर्गानिक खेतीलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘बाँझो जग्गा सदुपयोग गरी मूल्य शृंखलामा आधारित खेतीलाई प्रोत्साहन गरिने छ। धान, मकै, आलु, गहुँजस्ता कुराको खेतीको विकासका लागि विशेष प्राथमिकता दिइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने छ। बेमौसमी वर्षाका कारण भएको क्षतिको पूर्तिका लागि व्यवस्था हुनेछ।’
गएको कात्तिकमा भएको बेमौसमी वर्षाका कारण ठूलो संख्यामा खेतीबाली नष्ट भएको थियो। प्राकृतिक प्रकोप व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरकाले बेमौसमी वर्षाका कारण भएको क्षतिबारेको कुरा नीतिमा उल्लेख गरेको हो।
‘कृषि मार्ट स्थापना गर्न प्रोत्साहन गरिने छ। आगामी वर्ष २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याइने छ। भेरी बबइको सुरुङमार्ग निर्माणलाई गति दिइनेछ र दाङको सिँचाइ आयोजनाको मूल नहर विस्तार गरिनेछ। चन्द्र नहरको मर्मत गरिने छ,’ भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छ। पहाडमा लिफ्ट सिँचाई, तराईमा पानी सञ्चय गरी सिँचाइ विस्तार गर्ने र सिँचाइका लागि प्रयोग हुने विद्युतमा सहुलियत दिने सरकारको नीति छ।