काठमाडौं- नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर १५ एम औपचारिक रुपमा सार्वजनिक भएको छ। जापानिज् कम्पनी यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लूले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मोटरसाइकल सार्वजनिक गरेको हो।
केही दिन पहिले भृकुटीमण्डपमा सम्पन्न महा एक्सचेन्ज मेलामा प्रदर्शन गरेको भए पनि औपचारिक रुपमा भने सोमबार मात्रै सार्वजनिक भएको हो।
यामाहाको एम सिरिजको मोटरसाइकल आर १५ एममा पहिलेकै आर १५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ। जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ।
यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ। यसमा ६–स्पिड गियरबक्स दिइएको छ। त्यसैगरी यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोलका साथै क्विक सिफ्टर र स्लिपर क्लचसमेत दिएको छ। यसमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्विङ आर्मको प्रयोग गरिएको छ।
क्विकसिफ्टर यसमा भएको विशेष फिचर हो। यसका कारण निश्चित गति भन्दा बढी चलाउदा गियरसिफ्ट आफैं हुन्छ र घटाउँदा मात्र गियरको प्रयोग गर्नुपर्छ। त्यसैगरी यसमा अपसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन छ, जसले गर्दा ट्राफिक जाम भएको समयमा चलाउन सहज हुन्छ।
यो बाइकमा प्रोजेक्टर एलईडी ल्याम्प छ भने एरोडाइनामिक आकृतिको छ। डिजिटल कन्सोल भएको सो बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ।
त्यसैगरी यो बाइकमा साइड स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर आदि विशेषता उपलब्ध छन्। मोटरसाइकल सार्वजनिक गरिएसँगै यसको मूल्य पनि औपचारिक रुपमा सार्वजनिक गरिने छ। यसको मूल्य ५ लाख ७९ हजार ९ सय रुपैयाँ हुनेछ।
साथै यमाहाले आगामी अगस्त २५ गतेसम्म बाइक तथा स्कुटी खरिद गर्ने ग्राहकलाई ग्रैंड प्रिक्स मोटरसाइकल रेसिङ 'मोटोजीपी' मा सहभागी गराउने भएको छ। आगामी अक्टोबरमा थाइल्यान्डमा हुन लागेको मोटोजीपी गेमका लागि यमाहाले ग्राहकलाई अफर गरेको हो। लक्की ड्र मार्फत ४ जना उक्त खेलमा सहभागि हुन पाउने यमाहाका सिईओ राजु क्षेत्रीले बताए। उक्त अफरको लागि अगस्ट २५ सम्म बाईक खरिद गरेको हुनुपर्ने छ।
राजु क्षेत्रीका अनुसार मोटोजीपीको लागि नेपालको सहभागिता पहिलो पटक हुने बताएका छन्। 'नेपालबाट मोटोजीपीमा सहभागिता सम्भवत पहिलो पटक हुनेछ,' उनले भने, 'केही समय अगाडी जापानबाट कम्पनीकै सञ्चालक आएको समयमा हामीले यसको माग गरेका थियौँ। ५ वटा पास पाएका छौँ, एक जना कम्पनीबाट जानुहुने छ भने ४ जना ग्राहक छनोट गर्नेछौँ।'