काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न सुझाव दिएका हुन्।
‘वर्षौँदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको छ’, उनले भनेका छन्, ‘१६ खर्बको हाम्रो बजेटमा जम्मा सात महिनाको व्यापार घाटा नै सवा ११ खर्ब पुगेको थियो। अहिले नेपालको अर्थतन्त्र धराशायी बन्ने चिन्ता छ।’
उनका अनुसार नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
यस्ता विषयलाई बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। ‘हामीले एकातिर पर्याप्त पुँजीगत खर्च गर्न सकिरहेका छैनौँ। अनि हाम्रो आयात खर्च भने आकाशिँदो छ,’ पौडेलको स्टाटसमा लेखिएको छ।अहिलेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै उनले साउन १ गतेबाट नै कार्यान्वयन गर्न सकिने खालका परियोजनामा जोड दिनुपर्ने उनको भनाइ छ।