काठमाडौं- सत्याल पब्लिकेसनले स्नातक तहसम्म पठनपाठन हुने पाठ्यसामग्री डिजिटलाइज गर्ने सफ्टवेयर/एप सार्वजनिक गरेको छ। पब्लिकेशनले आइतबार एक कार्यक्रम आयोजना गर्दै यस्तो प्रविधियुक्त सफ्टवेयर/एप सार्वजनिक गरेको हो।
सत्यालले विगत दश वर्ष अघिदेखि पाठ्यपुस्तक उत्पादन गर्दै आएको छ। समयको मागअनुसार शिक्षालाई पूर्ण डिजिटलाइज गर्ने उद्देश्यका साथ नयाँ सफ्टवेयर सार्वजनिक गरिएको पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आर्यन सत्यालले जानकारी दिए।
अहिलेको परिवेशमा भौतिक कक्षाको पठनपाठन मात्र पर्र्याप्त नहुने भएकाले डिजिटलाइज गर्न लागिएको सत्यालले उल्लेख गरे। 'आजको माग भनेको डिजिटल शिक्षा हो। यसका लागि पाठ्यसामग्री डिजिटल हुन जरुरी छ। यसको पहल पब्लिकेसनले लिएको छ,' सत्यालले भने। अनलाइन कक्षा, अनलाइन टेस्ट, ई-बुक, असाइन्मेन्टलगायतका सबै काम डिजिटलाइज रुपमा गर्न सकिने उनको भनाइ छ।
सफ्टवेयर अनलाइन परीक्षाका लागि समेत उपयोगी बनाइएको छ। परीक्षा लिँदा 'वर्कफिल्ड'मा 'कपी-पेस्ट' हुन नसक्ने बनाइएको छ। सफ्टवेयरले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई सहयोग गर्ने पब्लिकेसनको विश्वास छ।
सफ्टवेयरमा १० हजारभन्दा बढी शिक्षक आबद्ध हुनेछन्। अभिभावकले राम्रो लागेको शिक्षक छानेर ट्युसन पढाउन सक्नेसमेत व्यवस्था गरिएको छ। विद्यार्थीले डिजिटल किताब तथा भिडियो सामग्रीबाट पढ्न सक्नेछन्।
सफ्टवेयर/एपलाई वर्ल्डलिंकले होस्टिङ गरेको छ। वर्ल्डलिंकका प्रोडक्ट म्यानेजर प्रमेश न्यौपानेले विदेशमा पहिल्यै सुरु भएको डिजिटल शिक्षाको अभ्यास नेपालमा पनि हुनु सह्रानीय भएको उल्लेख गरे।'वर्ल्डलिंकले विद्यालयलाई डिजिटलाइज बनाउन इन्टरप्राइजेज इन्टरनेट प्याकेज ल्याएको छ,' न्यौपानेले भने, ‘विद्यालयभित्र इन्टरनेट चलाउँदा कुन एप चलाउने वा नचलाउने भन्ने कन्ट्रोल गर्न सकिन्छ।'