बुधबार, वैशाख १२, २०८१

बालेनले मेयर जिते भने काम गर्न सक्लान्?

'पार्टीका मान्छेले गलत काम गर्दा पनि उसले कारबाही गर्न सक्दैन। मेयर आफै भ्रष्टाचारी भयो, पैसा खाने बाटोमा लाग्यो भने पो अरुले सपोर्ट गर्दैनन्। तर, मेयर ‘भिजनेरी’ छ, असल छ र पारदर्शी छ भने उसलाई सपोर्ट हुन्छ, यो मेरो विश्वास हो,' बालेनले भने।
 |  शनिबार, जेठ ७, २०७९

अनिल यादव

अनिल यादव

शनिबार, जेठ ७, २०७९

काठमाडौं- काँधमा देशको झन्डा ओढेर काठमाडौं महानगरको मेयर बन्‍न चुनावी मैदानमा होमिएका ३१ वर्षीय युवा बालेन शाह यतिखेर विजयोन्मुख छन्। यो रिपोर्ट तयार पार्दासम्म करिब ८४ हजार मतगणना हुँदा उनको मत संख्या ३१ हजार पुगिसकेको छ। गणना काठमाडौंको ‘कोर एरिया’भित्र प्रवेश गर्दा पनि उनको मतान्तर घटेको छैन, बरु १३ हजारभन्दा बढीले लिड गरिरहेका छन्। 

triton college

परिणाम जे आओस्, तर यथार्थ के हो भने यतिखेरको एउटा र्‍यापर तथा सिभिल इन्जिनियरको स्वतन्त्र ‘लौरो’ले पुराना र शक्तिशाली भनिएका राजनीतिक दलहरुको ‘सूर्य’ र ‘रुख’ लाई पनि नमिठोसँग हिर्काइरहेको छ- ठ्याक्क, ठ्याक्क, ठ्याक्क। अनि विश्लेषकहरु भनिरहेका छन्, ‘अहिले ब्यालेटबाट जे निस्किरहेको छ, त्यो मतमात्रै होइन, राजनितीक दलप्रति काठमाडौंबासीले पोखेको आक्रोश र वितृष्णा पनि हो।’

एउटा तप्काले त बालेनको स्वतन्त्र उम्मेदवारीलाई लिएर हिजैदेखि प्रश्न गरिरहेकै हो। तर, आज उनी विजयोन्मुख देखिँदै गर्दा त्यो प्रश्न झन् बढी पेचिलो बन्दै गएको छ- ‘के बालेन काठमाडौंको मेयर भए भने साँच्चै काम गर्न सक्लान् त?’ 

उनीहरु यो पनि सोधिरहेका छन्, ‘राजनीतिक दलहरुबाट निर्वाचित भएर आउने वडाध्यक्ष र सदस्यहरुले एउटा स्वतन्त्र उम्मेद्वारलाई सफल हुन देलान् त?’ 

यसमा हरेकका आ-आफ्नै मत-अभिमत छन्। तर, राष्ट्रिय सभा सदस्य एवम् संघीयताविद् डा. खिमलाल देवकोटा यसको जवाफ बालेन स्वयंमै निर्भर देख्छन्। ‘तपाईंले यदि निस्वार्थ तरिकाले काम गर्नुभयो, कुनै लोभलालच राख्नुभएन, सबैलाई समेटेर जान खोज्‍नुभयो भने मज्जाले सक्नुहुन्छ, नसक्ने भन्‍ने हुँदैन,’ उनी भन्छन्, ‘मैले बुझेसम्म काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी जकडिएको समस्या भनेको कर्मचारीकै हो। अर्को महत्वपूर्ण कुरा, मेयरले निर्वाचित जनप्रतिनिधिको विश्वास जितेर काम गर्ने हो। सामूहिक र सर्वसम्मत निर्णय गरेर त्यसलाई कार्यान्वयन गर्ने हो। हो, कतिपय पुरानो संस्कार भनेर पार्टीसँग जोडिएकाले काम गर्न दिँदैनन् भन्‍ने पनि छ। तर यो चिरेर जानचाँही सकिन्छ।’

corrent noodles
Metro Mart

त्यसो त राजनीतिक र स्वतन्त्र उम्मेदवारका कतिपय एजेन्डा फरक पर्न सक्छन्। कतिपय मेयरले चाहेर मात्रै पनि हुन सक्दैनन्, नगर सभाले पास गर्नैपर्ने हुन्छ। बालेनले सम्झौता गर्नुपर्ने त्यस्ता धेरै अवस्था आउनसक्ने डा. देवकोटाका बताउँछन्।  ‘तर, बालेनप्रति मिडियादेखि सामाजिक सञ्‍जाल सबैको राम्रो सहयोग र समर्थन देखिन्छ,’ उनले भने, ‘त्यसैले जनताको हितमा काम गर्छु भन्दा राजनीतिक दललाई पक्कै दबाब सिर्जना हुन्छ। त्यत्तिकै काम गर्न दिन्‍न भन्‍न कहाँ सजिलो छ र? नागरिक, जनता र मुलुकुको हितमा छ भने उनी ती कामहरु मज्जाले गर्न सक्छन्। उनले उठाएका एजेन्डाहरु त त्यस्तो उडन्ते कहाँ छन् र, त्यही फोहोरमैला, ट्राफिक व्यवस्थापन लगायत आधारभूत विकासका कुरा त छन् नि। त्यो पनि गर्न नदिँदा उसको पछाडि जनता छैनन् र?’

त्यसो त स्वतन्त्र उम्मेद्वारसामु आइपर्ने सम्भावित अप्ठेराहरुबारे बालेन स्वयं जानकार नभएका होइनन्। चुनावी प्रचारप्रसारकै क्रममा उनीमाथि यो प्रश्न नउठेको पनि होइन। तर, उनले ०७४ मा निर्वाचित ललितपुरका मेयर चिरिबाबु महर्जनको उदाहरण दिँदै भनेका थिए, ‘उहाँ पनि त्यहाँ अल्पमतमा हुनुहुन्थ्यो। नगरसभामा अधिकांश एमालेबाट निर्वाचित हुनुहुन्थ्यो। तैपनि उहाँले काम गर्नुभयो। म पनि गर्छु, गरेर देखाउँछु।’

'पार्टीका मान्छेले गलत काम गर्दा पनि उसले कारबाही गर्न सक्दैन। मेयर आफै भ्रष्टाचारी भयो, पैसा खाने बाटोमा लाग्यो भने पो अरुले सपोर्ट गर्दैनन्। तर, मेयर ‘भिजनेरी’ छ, असल छ र पारदर्शी छ भने उसलाई सपोर्ट हुन्छ, यो मेरो विश्वास हो,' बालेनले भने।

उनले त्यतिबेलै घोषणा पनि गरेका छन्, ‘नगरसभाका बैठकहरु पारदर्शी बनाउँछु, लाइभ टेलिकास्ट या भिज्युअल माध्यममार्फत सार्वजनिक गर्छु। त्यसपछि बिना तर्क कसैले विरोध गर्न सक्छ भन्‍ने लाग्दैन।’

त्यतिबेला स्वतन्त्र उम्मेदवारीमार्फत प्रश्‍न उठिरहँदा बालेनले सधैँ स्थानीय निर्वाचन निदर्लीय नै हुनुपर्ने तर्क पनि गरे। ‘राजनीतिक पार्टीमा आबद्ध भएको मेयरले काम गर्न नसक्नुको कारण उ आफ्नो पार्टीप्रतिमात्रै बफादार हुन्छ,’ उनको तर्क छ,‘त्यसैले पार्टीका मान्छेले गलत काम गर्दा पनि उसले कारबाही गर्न सक्दैन। मेयर आफै भ्रष्टाचारी भयो, पैसा खाने बाटोमा लाग्यो भने पो अरुले सपोर्ट गर्दैनन्। तर, मेयर ‘भिजनेरी’ छ, असल छ र पारदर्शी छ भने उसलाई सपोर्ट हुन्छ, यो मेरो विश्वास हो।’

राजनीतिक विश्लेषक भाष्कर गौतम अहिले बालेन मेयर भएपछि काम गर्न दिन्छन् या दिँदैनन् भनेर भइरहेका टिप्पणीहरुलाई गैरराजनीतिक ठान्छन्। ‘काम गर्न दिने÷नदिने त्यो भविष्यको कुरा भयो। खासमा यो व्यवस्थापकिय कुरा हो,’  उनी भन्छन्, ‘राजनीतिक रुपमा मुल कुराचाँही बालेनसहित सबै स्वतन्त्र उम्मेद्वारको मुल एजेन्डा भनेको पारदर्शिता हुनुपर्छ। धेरैले पारदर्शितालाई भ्रष्टाचारसँगमात्रै जोडेर हेर्छन् तर यो यत्तिमात्रै होइन। स्वतन्त्र उम्मेद्वारको सबैभन्दा ठूलो तागत उसँग पार्टी हुँदैन, पार्टीको निर्देशनमा काम गर्नुपर्ने दबाब हुँदैन। त्यसैले यदि उसले सक्रिय सहभागिता, निर्णय पद्धती र समग्र शासकीय प्रक्रियाको हिसाबमा स्वतन्त्र काम गर्ने शैलीलाई स्थापित गर्न सक्यो भने त्यो सबैभन्दा ठूलो राजनीतिक जित हुन्छ। त्यो गर्ने प्रतिबद्धता उसँग छ कि छैन, त्योचाँही हामीले सोध्‍ने हो।’ 

विश्लेषक गौतमलाई लाग्छ- स्वतन्त्रले उम्मेदवारले यदि आफ्नो राजनीतिक पुँजी चिन्‍ने र त्यसलाई अर्कै तरिकाले स्थापित गर्न सक्यो भने उनीहरुको राजनीति सफल हुन्छ। ‘दलहरुले बालेनलाई काम गर्न दिन्छन्, दिँदैनन् भन्‍ने कुरा दोस्रो हो। १० वटा पुल, सडक या टवर बनाएर सफल हुने भन्‍ने कुरा पनि दोस्रै हो,’ उनले भने, ‘मुल कुराचाहीँ उसलाई के काम गर्न दिएनन्, त्यसलाई पनि पारदर्शी रुपमा स्थापित गर्न सक्नु हो। र, अहिलेको राजनीतिको एउटा ठूलो अभाव पनि यही हो। हाम्रो समग्र शासकीय निर्णय पद्धतीमा, सहभागितामा र राज्यको श्रोतको प्रयोगमा एकदमै अपारदर्शि लोकतान्त्रिक व्यवस्था छ। तर, स्वतन्त्रलाई चाँही यो चिर्र्न सजिलो छ। किनभने उनीहरुसँग सांगठनिक भागबण्डा मिलाउनुपर्ने या अरु किसिमको अवरोध हुँदैन।’

त्यसो त सरकारले ०७४ मा जारी गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका काम, कर्तव्य अधिकारसम्बन्धी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश हेर्दा मेयरको अधिकार कमजोर त छैन। बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने, बैठकको कार्यसूची तथा प्रस्ताव पेस गर्ने, आवधिक वा वार्षिक कार्यक्रम वा बजेट तयार गर्ने, उपमेयर, कार्यपालिकाका सदस्यहरूलाई कार्य विभाजन नियमावलीअनुसार कार्य जिम्मेवारी बाँडफाँड गर्ने, सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने र गराउने, अनुगमन तथा मूल्यांकन एवं समीक्षा गर्ने गराउने सबै मेयरकै जिम्मेवारीभित्र छ। 


त्यसो त अघिल्लो कार्यकालमा महानगरका सञ्चालनका निमित्त ६० वटा ऐन-कानुन पनि बनेका छन्। त्यसैले यो कार्यकालमा निर्वाचित हुने मेयर कानुनी हिसाबले धेरै सहज हुने अड्कलबाजी पनि छन्। 

तर, फेरि पनि प्रश्न त्यहीँ गरेर ठोक्किन्छ, ‘दलहरुले बालेनका प्रस्तावहरुलाई त्यति सजिलै पारित हुन देलान् त?’  

‘महानगरमा स्वतन्त्र उम्मेदवारलाई काम गर्न म त्यति सहज त देख्दिनँ,’ यसअघि नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गी भन्छिन्, ‘यहाँ त बहुमतकै आधारमा धेरै कामहरु हुने हो। ललितपुरकै उदाहरण लिनुस् न, त्यहाँ वडाध्यक्षहरु बहुमत एमालेबाट जित्दा कांग्रेसबाट निर्वाचित मेयरज्यूलाई काम गर्न एकदमै हम्मेहम्मे परेको थियो। यता काठमाडौंकै कुरा गर्दा, कांग्रेसको बहुमत थिएन, त्यसैले कतिपय निर्णयमा मेयरज्यूले हामीलाई पेल्नुहुन्थ्यो। अब यस्तो अवस्थामा स्वतन्त्रबाट बालेनज्यू निर्वाचित हुनुभयो भने महानगर कसरी चलाउनुहुन्छ, म आफैँले ठम्याउन सकेको छैन।’

पूर्व उपमेयर खड्गीका अनुसार काठमाडौं महानगर संघीय र प्रदेश सरकारसँग पनि जोडिएकाले सहज छैन। ‘निर्वाचित मेयरले आठ जना सदस्य मनोनित गर्ने अधिकार छ, तर स्वतन्त्र आउँदा उहाँको संगठन हुँदैन, त्यतिबेला कसरी गर्नुहुन्छ थाहा छैन। विवाद त्यसमा पनि निम्तिन सक्छ। सबैलाई मिलाएर लान सक्नुपर्छ नत्र त काम गर्न धेरै गाह्रो हुनसक्छ,’ उनको अनुभवले यस्तै भन्छ। 

यही कारण स्वतन्त्र उम्मेदवाररले जित्दा महानगरको आउँदो पाँच वर्ष त्यसै खेर जान्छ कि भन्ने डरमा उनमा देखियो। भन्दै थिइन्, ‘कांग्रेस केन्द्रबाट अर्को पार्टीबाट निर्वाचित मेयरलाई अप्ठेरो पार्ने गरी त्यस्तो कुनै निर्देशन आएन।  तर मैले बुझेसम्म एमालेबाट निर्वाचित सदस्यहरुसँग काम गर्न धेरै गाह्रो हुनेवाला छ। किनभने उहाँहरुलाई पुरै केन्द्रको निर्देशन हुन्छ। यद्यपि काठमाडौं विकासका सामान्य कुरामा त त्यस्तो समस्या नहोला। ’

बालेन मेयर भएको अवस्थामा उनले काठमाडौं महानगरका पूर्व मेयर र उपमेयरलाई सल्लाहकार बनाउँदा उनलाई काम गर्न सहज हुने सुझाव पनि खड्कीको छ।

'स्वतन्त्र उम्मेदारले वडाका उम्मेदवारसँग तालमेल मिलाउन नसक्दा जित्न गाह्रो हुन्छ। कुनै जग नै नबसेको र दलको सिन्डिकेटको बीच मैले चुनाव जित्न सफल भए। तर, काम गर्न त्यति सहज भएन। नगरभित्र केही पास गर्न पनि धेरै संघर्ष गर्नुपरेको थियो। यद्यपि, पहिलाको पार्टी कांग्रेसका केही साथीहरू भएकोले बल्लबल्ल काम चाहीँ गर्थेँ। त्यसरी पनि मेरो पालामा धेरै काम भएका थिए,' उनी भन्छिन्।

 न्यायमुलक समाज निर्माण गर्ने खालका कुरामा बालेनसहित धेरै स्वतन्त्र उम्मेद्वारहरुको राजनीतिक दृष्टिकोण के हो, यो अहिलेसम्म सोधिएको छैन। समग्र पारदर्शीताको कुरामा अगाडि बढी नै हाल्नुभयो भने पनि उहाँहरुको राजनीति के हो ? त्यो राजनीतिले न्यायमुलमक समाज निर्माण गर्न सक्छ कि सक्दैन ? त्यो प्रश्नहरुको उहाँहरुले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुराचाँही अहिलेसम्म प्रष्ट छैन।

‘एमालेमा पार्टीको निर्देशन व्यापक हुन्छ, विद्या सुन्दर त्यसै असफल भएका होइनन् नि, पार्टीको निर्देशनअुनसार चल्नुपर्दा काम गर्न धेरै गाह्रो भएको हामीलाई सनाइरहनुहुन्थ्यो, त्यसैले यो चुनौती बालेनसामु पनि आउने पक्का छ,’ पूर्व काठमाडौं नगरसभाका एक सदस्यले हामीसँग नाम नलेखिदिने शर्तमा भने। 

बालेनलाई प्रश्‍न र अवसर 

काठमाडौं यस्तो ठाउँ हो, जहाँ बेलाबेला चुनावमा स्वतन्त्र उम्मेद्वारको लहर अप्रत्याशित रुपमा छाइदिन्छ। ०३८ सालमा स्वतन्त्रबाट उठेकी नानीमैया दाहालकै चर्चा गरौं न, काठमाडौंबासीले उनलाई यसरी पत्याइदिए कि उनी ठूलो मतान्तरसहित त्यतिबेला राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भइन्। राष्ट्रिय पञ्चायद सदस्यलाई नै त्यतिबेला नेपालको पञ्चायती व्यवस्थाकालिन सदस्य मानिन्थ्यो। 

उनले ६५ हजार ७ सय ७७ मत ल्याएर चर्चित नेता जोगमेयर श्रेष्ठलाई हराएकी थिइन्। श्रेष्ठले जम्मा ३० हजार ७४१ मत ल्याएका थिए। पञ्चायती संसदको निर्वाचनमा पञ्चायती शासनकै विरुद्ध उनले उम्मेद्वारी दिँदा धेरैले त्यतिबेला उनको हक्की र आँटिलो स्वभावलाई रुचाएका थिए। 

जसरी त्यतिबेला नानीमैयाको अपत्यासित उदय भयो, त्यस्तै अहिले बालेन शाहको देखिएको छ। अघिल्लो स्थानीय निर्वाचनमा पनि रन्जु दर्शना, किशोर थापाहरुप्रति मतदाताहरुको आकर्षण नभएको होइन। 

अहिले मान्छेहरु भनिरहेका छन्, ‘बालेन सिभिल इन्जिनियर हुन्, त्यसैले महानगरमा कसरी काम गर्ने, के गर्ने, सबै उनलाई थाहा छ।’

तर, राजनीतिक विश्लेषक भाष्कर गौतम यसरी विकासलाई पूर्वाधारमामात्रै सीमित गर्न नहुने बताउँछन्। ‘विकसित सहर या विकसित राजनीतिक व्यवस्था त त्यो हो जहाँ आम मान्छेले न्यायका लागि प्रहरीकोमा जानु पर्दैन, अदालतमा धाउनु पर्दैन, अनि जहाँ न्याय एकअर्काका हिसाबले सुनिश्चित हुन्छ’ उनले भने, ‘ तर, न्यायमुलक समाज निर्माण गर्ने खालका कुरामा बालेनसहित धेरै स्वतन्त्र उम्मेद्वारहरुको राजनीतिक दृष्टिकोण के हो, यो अहिलेसम्म सोधिएको छैन। समग्र पारदर्शीताको कुरामा अगाडि बढी नै हाल्नुभयो भने पनि उहाँहरुको राजनीति के हो ? त्यो राजनीतिले न्यायमुलमक समाज निर्माण गर्न सक्छ कि सक्दैन ? त्यो प्रश्नहरुको उहाँहरुले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुराचाँही अहिलेसम्म प्रष्ट छैन।’

यो प्रष्ट नभएसम्म स्वतन्त्र उम्मेद्वारको राजनीतिबारे जनता बेखबर हुने उनको बुझाई छ। ‘रन्जु दर्शना, किशोर थापा लगायत धेरै यसैगरी आए र गए,’ उनी भन्छन्, ‘त्यसैले बालेनले पनि आफ्नो राजनीति स्थापित गर्न सकेनन् भने भोलि उहाँको विकल्पमा पनि अर्को चुनावमा अर्को लहर चल्छ नै। त्यसैले यो कुरालाई उनले आत्मसात गरेर उनको राजनीति के हो, समाजलाई न्यायमुलक बनाउन उनी कसरी काम गर्छन् भन्नेमा स्पष्ट हुनुपर्छ। अनि त्यही काम नै पार्टीहरुको अहिलेको भद्दा विकास मोडलको विकल्प हुनुपर्छ। यो अर्को दुई-तीनवटा कंक्रिट विल्डिङ बनाउने या पूर्वाधार बनाउने भन्नेकुरा मात्रै होइन। यसरी पारदर्शी राजनीतिलाई समग्रतामा स्थापित गर्न सक्दामात्रै एउटा बालेन विकल्पको सफल मानक बन्‍न सक्छन् भन्ने लाग्छ।’

पारदर्शी राजनीति गर्ने समार्थ्य र दृष्टिकोण छ भने वडामा जुनसुकै दलको अध्यक्ष र सदस्य निर्वाचित भएर आएपनि मेयरलाई काम गर्न केही फरक नपर्ने तर्क गर्छन्, उनी।  ‘उनीसँग कार्यकारी अधिकार हुन्छ, त्यसैले काम गर्न सक्छन्। तर, त्यो काम गर्ने अधिकारको प्रयोगले काम गर्ने नयाँ मानक स्थापित गर्न सक्नुपर्‍यो। त्यसपछि जसले बाधा पार्‍यो त्यो पारदर्शी रुपमै बाहिर थाहा हुनेभयो। अहिले त भित्रभित्रै षड्यन्त्र हुन्छ भन्‍नेमात्रै त सुनेको हो।’

नगर सभाको बैठक कसरी बस्छ, कसले के निर्णय गर्न रोक्छ भन्‍ने कुरा भन्‍ने पारदर्शी हिसाबले सार्वजनिक गर्ने थिती बसाल्दा त्यसले बालेनलाई काम गर्न सहज हुने बताउँछन्, गौतम। ‘खासमा यो बालेनका लागि राजनीतिक सिन्डिकेट भत्काउने अवसर हो,’ उनले भने, ‘अब उनले राजनीतिमा सहभागी गराउने तौरतरिकामै फेरबदल ल्याउनुपर्‍यो, स्थानीय तहमा। यहाँ उपभोक्ता समिति लगायत धेरै कुरामा विवाद आउने गर्छन्। अब उनले यसमा व्यापक हेरफेर ल्याउनुपर्‍यो। सहभागीको राजनीतिलाई परिवर्तन गर्न उनीसँग के भिजन छ, त्यो प्रष्ट हुनुपर्‍यो। मिटिङ जसरी गरियोस्, तर माइन्यूट पब्लिक गरेर हुन्छ कि या अरु कुनै नयाँ थिति बसालेर, शासन गर्ने शैलीमा परिवर्तन आउन सक्नुपर्छ। आर्थिक पारदर्शीता त एउटा पाटोमात्रै हो।’

संघियताविद् डा. खिमलाल देवकोटा पनि बालेनले मिटिङलाई जसरी लाइभ टेलिकास्ट गर्छु भनिरहेका छन्, त्यसमा सकारात्मक सुनिए। ‘मैले राष्ट्रियसभामा बोलेकै हो, मन्त्रीहरुका कुराहरु लाइभ टेलिकास्टमार्फत सार्वजनिक गर्नुपर्छ। बालेन मेयर भए भने यो गर्न कसैले रोक्न सक्दैन। मात्रै उनी पारदर्शी हुनुपर्‍यो। समस्या आउन सक्छ तर भाग्‍नुभएन। तर, सबैतिर हात हाल्न खोजे भने, आकाशकै तारा झार्छु भन्न थालेभनेचाँही समस्या आउन पनि सक्छ।’

बालेनले आफ्नो घोषणापत्रमा त्यस्तो ठूल्ठूला सपना बाँडेका छैनन्। जसरी अघिल्लोपटक विद्यासुन्दर शाक्यले मेयर बन्‍नलाई मोनोरेलदेखि मेट्रोरेलसम्मका उडन्ते सपना देखाए। उनले बरु डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धताचाँही जनाएका छन्। सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शीता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने बताएका छन्। फोहोर, पानी र यातायात व्यवस्थापनका योजना सुनाएका छन्। 

र, यी कुराहरु गर्न दलबाट निर्वाचित जनप्रतिनिधिबाट रोकावट आयो भने पनि जसले बालेनलाई ब्यालेटमा मत हाले उनीहरु चुप लागेर बस्लान् त? 

‘अहँ, पक्कै चुप लाग्ने छैनन्। नगरसभामा जो-जो पुगेका हुन्छन्, सबैले आ-आफ्नो वडा या यो सहर बनाउँछु भनेरै गएका हुन्छन्। त्यसैले काठमाडौंको विकास हुन नदिन उनीहरुलाई पनि सहज हुने छैन,’ संघीयताविद् डा. देवकोटाले भने। 


प्रकाशित: May 21, 2022| 06:51 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...