काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपालको अर्थतन्त्रमा रातारात समस्या नआएको बताएका छन्। अर्थतन्त्रमा रहेको चुनौतीका बीच आगामी बजेट सरकारका लागि अवसर हुन सक्ने सांसद गगन थापाको तर्क छ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटसम्बन्धी सिद्धान्त तथा नीतिसम्बन्धी छलफलमा भाग लिँदै थापाले
आगामी बजेटमा निर्वाचन क्षेत्र केन्द्रित तथा लोकप्रिय नाराहरु लिएर रम्ने–झुम्ने भन्दा पनि अवसरको सदुपयोग गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
वर्तमान अर्थतन्त्रको अवस्था तथा प्रवृत्तिलाई बुझेर अल्पकालिन र दीर्घकालमा प्रारम्भ गर्न सक्ने ठोस कार्यक्रम तथा योजना ल्याउन उनले सरकारलाई आग्रह गरे। नेपाल मान्छे बेच्ने अनि मालसामान किन्ने देश भएको उनले टिप्पणी गरे।
‘हामीले अन्तर्राष्ट्रिय व्यापार गर्दै गर्दा १०० रुपैयाँको किनेर मुस्किलले ९ रुपैयाँको बेच्छौं। हामीले औद्योगिकरण गर्नका लागि सामानहरु किनेको भए त ठिकै हो। तर, हामीले लगाउने लत्ताकपडादेखि भान्सामा प्रयोग हुने सबै वस्तुहरु खरिद गर्छौं। हामीले हाम्रा केटाकेटीहरु बाहिर पठाउँछौं, अनि सामान किन्छौं। नेपाल मान्छे बच्ने अनि मालसामान किन्ने देश भएको छ। यसैमा हाम्रो घरधन्दा चलेको छ,’ थापाले बताए।
आगामी दशकका लागि आन्तरिक उत्पादन तथा उपभोग बढाउने औद्योगिक नीति ल्याउन थापाले जोड दिए। यसका लागि ‘सफ्ट नीति र हार्ड नीति’ अगाडि सार्नुपर्ने बताए। २०७९ देखि २०८९ सम्मको दशकलाई राष्ट्रिय उत्पादन बढाउने र उपभोग बढाउने दशकको रुपमा मनाउनका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गरेको थापाले जानकारी दिए।
‘अन्तर्राष्ट्रिय अध्ययनहरुले के भन्छ भने राष्ट्रिय उत्पादन गर्नका लागि दुई प्रकारका नीतिहरुको आवश्कता हुन्छ। एउटा हार्ड पोलिसी र अर्को सफ्ट पोलिसी। सफ्ट पोलिसी उत्पादकत्व बढाउने, उत्पादन बढाउन पूर्वाधारमा मद्दत गर्ने, नयाँ प्रविधि भित्र्याउने र प्रतिपर्धी क्षमता बढाउने काम निरन्तर रुपमा गर्दै गए हुन्छ। हार्ड पोलिसी अन्तर्गत छुट, प्रोत्साहन,आयात निरुत्साहन गर्ने। यो औचित्यपूर्ण, रणनीतिक र समयआवद्ध हुनुपर्छ,’ थापाको भनाइ छ।
आन्तरिक उत्पादन बढाउनका लागि धागो, कपडा उद्योग, फुटवेयर, निर्माण सामग्री, कृषि खाद्यान्न, वन पैदावर तथा जडीवुडी, हस्तकला र अन्य नयाँ अवसर लगायतका ७ क्षेत्रमा उत्पादन बढाउने नीति लिनका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको थापाले बताए।
सफ्ट नीति अन्तर्गत यस्ता उद्योगहरुमा १० वर्षसम्म वैदेशिक लगानी भित्र्याउने, आन्तरिक लगानी बढाउने, जनशक्तिलाई प्रशिक्षित गर्ने, एसएमईलाई प्रवर्द्धन गर्ने, भन्सार दर र प्रोत्साहन गर्नुपर्ने आफ्नो सुझाव रहेको उनले सुनाए।
सन् १९९० को उदारीकरणमा उद्योग व्यवसाय बेचेको भन्ने गतल भाष्य लिएर मानिसहरु बसिरहेको प्रति उनले आपति जनाए। ती उद्योग नबेचेको भए चमत्कार भइरहेको हुन्थ्यो भन्ने सोच गलत भए पनि तथ्यांक हेर्दा २०४९ देखि २०५१ बीच सबैभन्दा बढी उद्योगहरु दर्ता भएको र यसैले नै नेपालको वर्तमान अर्थतन्त्र धानिरहेको थापाले दाबी गरे।
‘तथ्यांक हेर्ने हो भने २०४९ देखि ०५१ को अवधिमा नै सबैभन्दा धेरै उद्योगहरु दर्ता भएको छ। त्यही बेला नै स्थापना भएका उद्योगहरुले नै अहिले केहि न केहि औद्योगिक आधारहरु तयार गरिरहेको छ। तर, अहिले पनि हामी बेला बेलामा त्यो उद्योग नबेचेको भए, त्यो जुत्ता कारखाना नबेचेको भए यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भन्छौंश्र त्यो गतल हो,’ थापाले भने।
औद्योगिकरणको प्रारम्भ नगर्न नपाउँदै एकै पटक कृषिबाट सेवा क्षेत्रमा फड्को मार्दा नेपालमा औद्योगिकरण राम्रोसँग फस्टाउन नपाएको भन्दै उनले नेपालमा वार्षिक रुपमा ५ लाख श्रम शक्ति रोजगारीका लागि आउने भए पनि मुस्किलले २० हजारले पनि रोजगारी नपाएको तथ्य प्रस्तुत गरे।