काठमाडौं– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्बजनिक गरेको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो योजना सार्बजनिक गरेको हो ।
यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०–२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।
यसैगरि योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।