काठमाडौं- प्रतिनिधिसभामा आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल भइरहेको छ। अर्थमन्त्री जनार्दन शर्मा भने संसद बैठकमा अनुपस्थित देखिएपछि सभामुखले बैठकमा उपस्थित हुन रुलिङ गरेका छन्।
अर्थमन्त्री शर्मा बुधवारको बैठकमा पनि अन्तिमसम्म बसेका थिएनन्। वुधबार अन्तिम वक्ताका रुपमा आएका माओवादीका सांसद गजेन्द्रबहादुर महतले आफ्ना धरणा राख्ने बेला अर्थमन्त्री अनुपस्थित भएको भन्दै गुनासो गरेका थिए।
आजको संसद बैठक प्रारम्भ हुँदादेखि नै अर्थमन्त्री संसदमा अनुपस्थित देखिए। आजको छलफलमा नेकपा एमालेका सांसद भीम रावलले बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि आफ्नो धारणा प्रस्तुत गरिसकेका थिए। त्यसपछि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग बोल्ने समय मागे। सभामुखले पनि भट्टराईलाई बोल्ने समय दिएपछि भट्टराईले अर्थमन्त्रीले बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु गरेर आफैँ संसदमा हुनुको कारणबारे ध्यानाकर्षण गराए।
'विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गरिरहँदा माननिय अर्थमन्त्रीज्यू यो सदनमा उपस्थित भएको देखिनु हुन्न। यसो हाउँभाउँ हेरौं न भन्दा पनि कुनै पनि मन्त्रीज्यूहरुले डायरी पल्टाएर टिपोट गरेको पनि देखिँदैन। की अन्यत्र कतै वसेर अर्थमन्त्रीले टिपोट गरिरहनु भएको छ। सदन बोलेको कुरा उहाँ बसेको निवास वा मन्त्रालयमा रेकर्ड जान्छ भने त मलाई भन्नु केही छैन। तर, यहाँ अर्थमन्त्री नभइकन हामीले के आधारमा छलफल गर्ने, के आधारमा सुझाव दिने र के आधारमा जवाफ दिनुहुन्छ मैले यसको उत्तरखोजेको हो सभामुखज्यू,' भट्टराईले भने।
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको अर्थमन्त्रीलाई संसद बैठकमा उपस्थित हुनक लागि रुलिङ गरेका थिए। 'माननीय सदस्यज्यूले उठाउनु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ५ वमोजिम सम्बन्धित मन्त्रालयको माननीयमन्त्रीलाई बैठकमा उपस्थितिका लागि निर्देश गर्दछु।'
त्यसपछि बोल्न अनुमति पाएका मिनेन्द्र रिजालले बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि संसदमा छलफल भइरहँदा अर्थमन्त्री र अर्थ मन्त्रालयका अधिकारीहरुको अनुपस्थिति हुनु दुखद् भएको बताएका थिए।