काठमाडौं– विनियोजन विधेयक २०७–०८० को सिद्धान्त तथा प्राथमिकताको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको कामबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन्। अर्थतन्त्र विकासका लागि अर्थमन्त्रीबाट साहसिक कामको अपेक्षा गरेकोमा त्यस्तो पाउन नसकेको उनले बताए।
‘अर्थमन्त्री महान १० वर्षे जनयुद्धका कमाण्डर र एउटा साहसी व्यक्ति पनि हुनुहुन्छ। मैले उहाँसँग क्षमायाचना गर्दै भन्नैपर्छ जुन साहसिक कदमको अपेक्षा गरेको थिएँ त्यो चाहिँ मैले पाउन सकिन। किनकी हामी अहिले सामान्य अवस्थामा छनौं,’ उनले भने।
नेपालमा रहेको गरिवि, वेरोजगारी, अल्पविकास र परनिर्भरतको दुष्चक्रमा बाँधिएर मुलुकलाई औद्योगिकरणको अवस्थमा पुर्याउन नसकेको बेलामा अर्थमन्त्रीले समाजवादको कुरा गरिरहेको उनले बताए। समाजवादमा जानुभन्दा अगाडि पुँजीवादको विकास हुनुपर्नेमा उनले जोड दिए। यसो भनिरहँदा आफूलाई दक्षिणपन्थी, दलाल र गद्दार भनेपनि आफूलाई फरक नपर्ने उनले बताए।
अर्थतन्त्रमा देखिएको रोगको कारण के हो भनेर खोज्नुपर्नेमा उनले जोड दिए। विगतका १० वर्षमा आफूसहित धेरैजना अर्थमन्त्री भएको भन्दै कोही पनि आरोपबाट मुक्त हुन नसक्ने र कसैले पनि घमण्ड गर्नुपर्ने कारण नरहेको उनले बताए। समाजवादलाई नछोडे पनि चीनका देङ स्याओ पिङको बाटोमा अगाडि बढ्न उनले अर्थमन्त्रीलाई सुझाव दिए। बिरालो सेतो वा कालो भए पनि मुसा मार्नुपर्ने देङको विचारनुसार अगाडि बढ्न उनले सुझाव दिए।