काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९/८० को सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव वाहेक)माथि छलफल सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रस्तुत गरेको उक्त प्रस्तावमा बुधबारदेखि छलफल सुरु भएको हो।
छलफलका क्रममा प्रतिनिधिसभाका सांसदले धारणा प्रस्तुत गरिरहेका छन्। एमालेका योगश भट्टराईले प्रस्तुत सिद्धान्त तथा प्राथमिकताबारे प्रश्न उठाएका छन्।
'अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको यो कस्तो सिद्धान्त हो? कसको सिद्धान्त हो? कसका लागि सिद्धान्त हो? यो सिद्धान्त प्रधानमन्त्रीज्यूको हो कि? अर्थमन्त्रीज्यूको हो? दुवैजनाको सिद्धान्त हो भने यहाँ गम्भीर प्रश्न उब्जिन्छ। फरक दलहरु किन खडा हुन्छन् त्यसको गम्भीर ढंगले प्रश्न उठाउनुपर्छ', भट्टराईले भने।
गठबन्धनका दलहरुले एउटा 'गाडा'लाई अगाडि र पछाडि दुवैतिरबाट तानेको उनको आरोप छ। संसदमा प्रस्तुत सिद्धान्त तथा प्राथमिकताले मुलुकलाई कुनै पनि प्रकारको गति नदिने उनको भनाइ थियो।
अर्थमन्त्री जनार्दन शर्मा फ्रान्सिस फुकुयामाबाट प्रेरित भएर विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता ल्याएको उनले आरोप लगाएका छन्।
'बजेटको सिद्धान्त तथा प्राथमिकता हेर्दा कतै हाम्रो अर्थमन्त्री फ्रान्सिस फुकुयामाबाट निर्देशित भएर इतिहासको अन्त्य र इतिहासको मृत्यु भयो भन्ने दस्तावेजबाट प्रेरित भएर बनाउनु भयो कि जस्तो लाग्छ। किनकि उहाँसँग कुनै सिद्धान्त र प्राथमिकता नै छैन यसमा,' भट्टराईले भने, 'फुकुयामावादमा हिड्नुभएको छ कि मार्क्सवादमा हिँड्नु भएको छ? अर्थमन्त्रीले विचार गर्नुपर्यो।'
संविधानमा उल्लेख गरिएको समाजबाद उन्मुख अर्थतन्त्रलाई बजेट सिद्धान्त तथा प्राथमिकताले न्याय गर्न नसकेको उनको भनाइ छ। सार्वजनिक शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका पक्षमा विनियोजन विधेयक मौन र अर्थमन्त्री बेखबर भएको उनले आरोप लगाए। अघिल्लो सरकारले ३९६ अस्पताल निर्माणका लागि योजना बनाएकोमा अर्थमन्त्री मौन रहेको उनको भनाइ थियो।
यसैगरी मासिक रुपमा १० प्रतिशत पुँजीगत खर्च गर्ने उद्घोष गरेका अर्थमन्त्रीले १० महिनामा ३० प्रतिशत पनि खर्च नभएको भन्दै अब बाँकी समयमा लक्ष्य अनुरुप खर्च हुनेमा प्रश्न गरेका थिए।