काठमाडौं- आइतबार राति पेप्सीकोलाबाट अपहरणपछि हत्या गरिएका ११ बर्षिय निसान खडकाको सकुसल उद्धार हुन नसकेको विषयलार्इ लिएर प्रहरीको भूमिका र अनुसन्धान क्षमतामाथि नै प्रश्न उठाइएको छ।
आमा चमेली खड्काले चलाएको खाजा पसलबाट अपहरणमा परेका निसानको सकुसल उद्धार गर्ने प्रहरी योजना सफल हुन सकेन। निसानलार्इ अपहरण गर्ने दुर्इ जना प्रहरीसँगको इन्काउन्टरमा मारिएको दाबी प्रहरीले गरेको छ।
सिन्धुपाल्चोक ज्यामिरे ९ स्थायी घर भएका निसानका बाबु गणेश खड्का वैदेशिक रोजगारीका क्रममा मलेसीयामा छन भने आमा चमेली पेप्सीकोलाको टाउन प्लानिङमा खाजा पसल छ।
ग्राहक बनेर खाजा पसलमा आएका दुई अपहरणकारी मध्येका एक गोपाल तामाङ सिन्धुपाल्चोकका हुन। सिन्धुपाल्चोकमै चिनजान भएका गोपालले निसानका बाबु गणेशले मलेसियाबाट पठाएको तथा चमेलीले खाजा पसलबाट कमाएको केहि पैसा बचत गरेको थाहा पाएको प्रहरीको दाबी छ।
प्रहरी कारबाहीमा गोपालसंगै उनका सहयोगी नुवाकोटका अजय तामाङ समेत मारिएका हुन। अपहरणकारी दुवैजना पेन्टरको काम गर्ने मजदुर हुन। छिटो पैसा कमाउने लोभमा बच्चाको अपहरण गरी हत्या भएको हुनसक्ने प्रहरीले दाबी छ।
कसरी परे अपहरणमा निसान?
अर्जेन्टिना तथा लियोनन् मेस्सीका फ्यान निसानले १० नम्बरको जर्सी लगाएर आईतबार ४:३० बजे स्कूलबाट फर्कि फुटबल खेल्न बाहिर निस्केका थिए। अपहरणकारीले ९ बजेर एक मिनेट जाँदा फिरौतीवापत ४० लाख नगद मागेपछि चमेलीले छोरा अपहरणमा परेका भन्दै प्रहरीलाई उजुरी दिएकी थिईन।
दैनिक पसलमा आउने अपहरणकारीसँगै निस्केका निसान उनिहरुको कब्जामा परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। भक्तपुरको ठिमी पुर्याईएका निशान आमा चमेलीलाई छोरा अपहरण्मा परेको र ४० लाख फिरौती नदिए हत्या गर्ने बताएपछि रुने चिच्याउने गर्न थालेका थिए। अरुले थाहा पाउन सक्ने अपहरकारीले निशान गरेको हत्या गरेको हुनुसक्ने प्रहरीको दाबी छ। निसानलाई मुखमा कपडा कोची घाँटी कसेर हत्या गरिएको र शव ठिमी ७ स्थित बन्दै गरेको श्याम लवटको जगमा पुरिएको अवस्थामा सोमबार दिउसो १२:३० बजे फेला पारेको थियो।
कस्तो थियो अप्रेशन ?
अपहरणमा परेका निसानको जिवितै उद्धार गर्ने उदेश्यले काठमाडौं महानगरीय प्रहरी सूचना पाए लगत्तै परिचालित भएको थियो। अपहरित बालक निसानलाई सकुसल उद्धार गरी अपहरणकारीलाई नियन्त्रण गर्न नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको नेतृत्वमा करिब ३०० प्रहरी परिचालन भैसकेका थिए। अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले समयमै कलडिटेल लिन अदालतबाट स्वीकृती पाएको भए सकुशल उद्धार सम्भव हुने दाबी गरे।
यस्ता फिरौतीका अपहरणका घटनामा ७५ प्रतिशतलाई सकुसल उद्धार गर्न सकिदैन। 'निसानको फिरौती लिएको भएपनि हत्या हुने देखिन्छ', एसएसपी सिंहले भने, 'अपहरणका प्रमाण नष्ट गर्न अपहरितकै हत्या हुने गरेको छ।'
अपहरण परेको उजुरी पाए लगत्तै काठमाडौं तथा भक्तपुर प्रहरी घटना स्थलमै पुगेर कारवाही अघि बढाएको थियो। सूचना पाएको १० मिनेटमै अपराध महाशाखाको टोली घटना स्थल पुगेको एसएसपी सिंहले नेपाल समयलाई बताए। साँझको समयमा अपहरण भएकाले कल डिटेल तथा लोकेसन पत्ता लगाउने 'सिडीआर' अदालतको स्वीकृती लिनुपर्ने कारण ढिलो भएको महाशाखाको तर्क छ।
यस्ता घटनामा तत्कालै सिडीआर लिन सके सम्भावित अपराध नियन्त्रण प्रभावकारी हुन सक्छ। अदालतको आदेश आवश्यक पर्ने तथा रातिको समयमा अदालत तथा मोबाइल सेवा प्रदायक कम्पनीले कल डिटेल उपलब्ध नगराएका कारण पनि अप्रेसनमा केहि अप्ठ्यारो भएको प्रमुख सिंह बताउँछन। 'तर हामीले सूचना पाए लगत्तै कारवाही अगाडी बढायौं र हामीले कुनै कसर बाँकी राखेको छैनौं', सिंहले भने।
अपहरणमा परेका बालक निसानलाई सकुसल उद्धार गरी अपहरणकारीलाई नियन्त्रणमा लिन प्रहरीको अपराध महाशाखाले उपत्यकाका सम्पूर्ण नाका निगरानीका राखेको थियो।
'हामीले उपत्यका हुँदै बाहिर जाने सम्पुर्ण नाका शिल गरेका थियौं। अपहरणकारी हामीबाट उम्कन सक्दैन थिए, हाम्रो सम्पूर्ण ध्यान बालकलाई सकुसल उद्धार गर्नु थियो। त्यसको लागि हामीले सम्भावित क्षेत्रको पहिचान गरी २, ४ ,६ ,८ किलो मिटरको दुरीमा घेरा बनाएका थियौ, फिरौती माग्ने बितिकै बच्चाको हत्या भएकोले अपहरित बालक निसानलाई सकुसल उद्धार गर्ने हाम्रो प्रयास असफल भयो', एसएसपी सिंहले भने।
संगठित अपरध अर्न्तगत पर्ने अपहरणका घटनामा प्राय हत्या नै हुने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। अपहरणपछि फिरौती माग गर्ने र घटना सार्वजनिक हुने डरले अपहरितलार्इ हत्या गर्ने गरेको देखिन्छ। अपहरितलार्इ लुकाउन गार्हो हुने भएपछि फिरौती माग्नु पूर्व नै हत्या हुने गरेको देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४