बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सातामा दुई दिन सार्वजनिक बिदा : नेप्से र बैंकहरू शुक्रबार पुरा समय खुल्ने

सातामा दुई दिन सार्वजनिक बिदा : नेप्से र बैंकहरू शुक्रबार पुरा समय खुल्ने

आजदेखि साताको दुई दिन बिदा कार्यान्वयन हुने भएको छ। नेपाल सरकारले परीक्षणको रूपमा संवत् २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने गरी गरेको निर्णय कार्यान्वयन भएको हो।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं- आजदेखि साताको दुई दिन बिदा कार्यान्वयन हुने भएको छ। नेपाल सरकारले परीक्षणको रूपमा संवत् २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने गरी गरेको निर्णय कार्यान्वयन भएको हो। आइतबार पनि सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ। 

National life

अबदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने छ।  सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजे देखि अपराह्न ५:३० बजेसम्म निर्धारण गर्ने, तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म रहने छ।  

संवत् २०७९ सालको लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । 

कार्यालयमा सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्ने राजपत्रमा उल्लेख गरिएको छ। 

नेप्से र बैंकहरू शुक्रबार पुरा समय खुल्ने 

Shivam cement

दुई दिन सार्वजनिक बिदा भएपछि जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने छ।  नेप्से सञ्चालक समितिको २०७९/०१/२१ गतेको बैठकले नेपाल सरकारको निर्णयअनुसार नै कार्यालय समय सञ्चालन गर्ने र जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।

नेप्सेले गत आइतबार सम्पूर्ण ब्रोकरहरूलाई सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ। 

नेप्सेले ब्रोकरहरूलाई पठाएको पत्रमा भनिएको छ, 'उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९ वैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सोही अनुरूप सोमबारदेखि शुक्रबारसम्म धितोपत्रको कारोबार गर्ने व्यवस्था मिलाउन नेप्से सञ्चालक समितिको मिति २०७९र०१र२१ गतेको निर्णयअनुसार अनुरोध छ।' नेप्से यसबारे लगानीकर्ता र सम्पूर्ण सरोकारवालालाई समेत सूचनामार्फत जानकारी गराएको छ

त्यस्तै नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय क्षेत्रको लागि विभिन्न आधा दर्जन नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकका गभर्नरद्वारा वैशाख २८ गते स्वीकृत टिप्पणी अनुसार २०७९ साल जेठ १ देखि लागू गर्ने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने सम्बन्धमा राष्ट्र बैंकले विभिन्न निर्णय गरेको हो।

राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले राष्ट्र बैंकका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय, र इकाईलाई नयाँ व्यवस्थाबारे जानकारी गराएको छ।

जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने ।

सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपराह्न ५:३० बजेसम्म कायम गर्ने, तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म कायम रहने छ।

निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरू, तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्ने बताइएको छ। उक्त सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउने छ।

बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० बजेदेखि साँझ ४:०० बजेसम्म कायम गर्ने तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान ९:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म कायम रहने बताइएको छ।

शुक्रबारको लागि पनि बैंकको निर्धारित कार्यालय पोसाक कायम हुनेछ। विभाग, कार्यालय, महाशाखा, इकाईले प्रत्यक्ष सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने एकै सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्ने छ।

हप्ताको दुई दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरूको सूची दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनका लागि अभिलेख गरी राख्ने उल्लेख छ।

प्रकाशित: May 15, 2022| 12:15 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्