काठमाडौं- प्रहरीले दुई अपहरणकारीलाई इन्काउन्टर गरेको छ । काँडाघारीका ११ वर्षीय बालक निसान खड्काको अपहरणमा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरीको इन्काउन्टरमा मारिएका हुन् ।
उनीहरुले अपहरणपछि निसानको हत्या गरेका थिए । खड्काको शव ठिमीस्थित निर्माणाधीन भवनको जगमा पुरिएको अवस्थामा प्रहरीले फेला पारेपछि अपहरणकारीको खोजीमा जुटेको प्रहरीले भक्तपुरको डोलेश्वर जंगलमा भेटिएका उनीहरुलाई नियन्त्रणमा लिनेक्रममा दोहोर भिडन्त भएपछि दुवैको मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले नेपाल समयलाई जानकारी दिए ।
अपहरणकारी चिनजान कै भएको मृतक परिवारले बताएको छ । बालककी आमाले संचालन गरेको होटलमा खाजाखान आएका दुईजनाले फिरौतीबापत एक करोड माग गरेको बताईएको छ । प्रहरीले अपहरणमा संलग्न अन्यको खाजी तथा अनुसन्धान जारी राखेको जनाएको छ।
बालक निशानका बाबु रोजगारीको शिलशिलामा मलेसिया पुगेका छन् आमा काँडाघारीमा चिया पसल चलाउदै आएकी छिन् ।
इन्काउन्टरमा मारिएका गोपालको घर नुवाकोट हो भने अजयको घर सिन्धुपाल्चोक ज्यामिरे भएको प्रहरीले जनाएको छ । अपहरणमा परेका बालका बाबु आमाको घर पनि सिन्धुपाल्चोक ज्यामिरे नै भएको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४