काठमाडौं- उत्तर-पूर्वी दिशाबाट नेपाली आकाशमा आइपुगेको न्यून चापीय रेखाका कारण देशभर मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
न्यून चापीय रेखा तल-माथि सर्ने क्रमका कारण वर्षा हुने या सुख्खा मौसम रहने भन्ने निर्धारण गर्छ । नेपाली आकाशमै न्यून चापीय रेखा सक्रिय रहँदा देशभर वर्षात् हुने 'ट्रेन्ड' छ ।
विभागका महानिर्देशक ऋषिराम शर्माले भने, 'हामी सक्रिय मनसुनको अवस्थामा छौं । यो अवस्था अझै करिब एक साता रहने सम्भावना छ ।'
उनका अनुसार ठूलो बाढी आउने सम्भावना देखिएको छैन । स-सानो परिमाणमा भने बाढी आइरहेको छ । खहरे खोलाहरूमा भल-बाढी देखिएको छ । बादलको घनत्वअनुसार वर्षा भने नभएको महानिर्देशक शर्माले बताए । नेपाली आकाशको स्थानीय बादल पनि यतिबेला सक्रिय छ ।
विभागले आइतबार बर्दियास्थित बबई नदीको तटीय इलाकामा बाढीको पूर्वसूचना प्रवाह गरिएको थियो । बबईमा जल सतह बढेको छ । र, बर्दियाको केही क्षेत्रमा डुबानको समस्या देखिएको छ ।
'उत्तर-पूर्वी वायुको कारण मनसुन सक्रिय देखिएको हो, अहिले,' शर्माले नेपाल समयसँग भने, 'चीनको स्वशासित क्षेत्र तिब्बततिरबाट मोइस्चर (आर्द्रता)को प्रवाह भएको छ । बंगालको खाडीबाट शुरु भएको मनसुन तिब्बत पुगेर नेपाली आकाशतिर मोडिएको देखिएको छ ।'
नेपालमा सामान्यतया १० जुनदेखि मनसुन शुरु हुने र २३ सेप्टेम्बरसम्म रहने गर्छ । यस वर्ष दुई दिन अघिदेखि झरी पर्न थालेको छ । करिब एक सय ५० दिन रहने मनसुनकै बेलामा ८० प्रतिशत वर्षा हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४