काठमाडौं– नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौं वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरीको शैक्षिक सामग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।
नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो। सन् २०१७ देखि हिमालय एअरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैरसरकारी, गैरनाफामूलक र सामाजिक संस्था हो। विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामग्री, खाजानास्ता, खाद्यान्नहरूका साथै कोभिड १९ विरुद्धका सामग्रीहरुको आपूर्तिमार्फत हिमालय एअरलाइन्सले निरन्तर सहयोग गर्दै आएको बताएको छ।
सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरू मार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ। हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बालबालिकाको रेखदेख गरिरहेको जनाएको छ।
बालबालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदानप्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो । यसक्रममा हिमालय एअरलाइन्सका जहाजका अनुभवी चालकदलले बालबालिकासँग अन्तरक्रिया गरेका थिए । उक्त सत्रको उद्देश्य यी बालबालिकाहरुमा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरहरु बारे जानकारी गराउने थियो । कार्यक्रममा बालबालिकाहरुले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए।
शैक्षिक सामाग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेशनरी सामग्रीहरु समेटिएका थिए।