काठमाडौं- आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्ततु गर्ने जानकारी संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले दिएका हुन्।
राष्ट्रपति भण्डारीले आगामी जेठ ३ गते संसद बजेट अधिवेशन आह्वान गरेकी छन्। सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्नेछ। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने पाण्डेले जानकारी दिए।
बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको उनको भनाइ छ। जेठ ३ गते पहिलोप्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ। जेठ ४ र ५ गते प्रि–बजेटमा छलफल हुने छ। जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रश्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए।
'संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण हुन्छ । त्यसपछि आर्थिक विधेयक र पुरक विधेयकहरु प्रश्तुत र छलफल हुनेछ । जेठ महिनाको अन्तिम प्रतिनिधि सभाका कार्यक्रमहरु निरन्तर जाने देखिन्छ । त्यस्तै, राष्ट्रिय सभाको पनि जेठ ३ गते नै बैठक शुरु भएर क्रमशः अगाडि बढ्छ,’ प्रवक्ता डा. पाण्डेले भने।
उनका अनुसार जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्नेछन्।