काठमाडौं– अमेरिकी डलरको भाउले नेपाली बजारमा इतिहास रचेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको डलरको विनिमय दरअनुसार एक डलर बराबर नेपाली १२४ रुपैयाँ २५ पैसा रहेको छ। जुन इतिहासकै उच्च रहेको अर्थविद्हरुको दावी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो चार वर्षमा डलरको भाउ नेपाली रुपैयाँको तुलनामा २२.३७ रुपैयाँले वृद्धि भएको छ।
रसिया–युक्रेन युद्धका कारण भएको खानेकुरा र इन्धनको मूल्यवृद्धिका कारण डलरको माग बढेपछि विश्व बजारमा डलरको भाउमा वृद्धि भएको हो। ‘डलरको मूल्य वृद्धि हुनुको मुख्य कारण भनेको मूल्यवृद्धि हो,’ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपाल समयसँग भने, ‘पछिल्लो समय कोरोनाले थलिएको अर्थतन्त्रलाई रसिया–युक्रेन युद्धले थप थला पार्यो जसका कारण मूल्यवृद्धि भयो र डलरको मागमा वृद्धि भयो भने आपूर्तिमा कमी भई डलरको मूल्यमा वृद्धि भएको हो।’
अमेरिकामा ४० वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ। अमेरिकाको केन्द्रीय बैंकका अनुसार मार्चमा मूल्यवृद्धि ८.५ प्रतिशत पुगेको छ। सन् २०२१ को फेव्रुअरीमा अमेरिकामा मूल्यवृद्धि १.७ प्रतिशत मात्र थियो। तर सन् २०२१ को मार्चदेखि भने त्यहाँ मूल्यवृद्धि सुरु भएको थियो।
मूल्यवृद्धिका कारण सामान खरिदका लागि धेरै डलरको माग भएको र आपूर्तिका लागि केन्द्रीय बैंक सक्षम नभएपछि डलरको माग र आपूर्तिबीचको सन्तुलन नै बिग्रेपछि डलरको भाउमा वृद्धि भएको अमेरिकाको समाचार पोर्टल सिएनविसीले जनाएको छ।
डलरको भाउ बढ्नुमा मूल्यवृद्धि मात्र कारण होइन। विश्वको ठूलो अर्थतन्त्र भएको जापान, कोरियाजस्ता देशले अन्तर्राष्ट्रिय बजारमा बण्ड जारी गरेको र सो बण्ड खरिदका लागि डलरको प्रयोग हुँदा डलरमा कमी आई मूल्यवृद्धि भएको हो। जसको असर नेपालजस्तो सानो मुलुकलाई पनि परिरहेको छ। नेपालको मुद्रा भारतीय रुपैयाँसँग ‘पेग’ छ त्यसैले भारु डलरसँग कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ।
रसिया–युक्रेन युद्धका कारण भएको खानेकुरा र इन्धनको मूल्यवृद्धिका कारण डलरको माग बढेपछि विश्व बजारमा डलरको भाउमा वृद्धि भएको हो।
‘डलर महँगो हुँदा नेपालजस्तो आयातमा निर्भर देशमा मूल्यवृद्धिले आकाश छुन्छ,’ अर्थविद् अधिकारी भन्छन्। नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनमा देशको मूल्यृवृद्धि ७.१४ रहेको छ। बुधबार तय भएको डलरको भाउले मूल्यवृद्धिलाई थप सघाउ पु्र्याउने छ। भन्सार विभागका अनुसार नेपालमा ९० प्रतिशत सामग्रीको आयात हुन्छ भने निर्यातको तुलनामा आयात ९०.३ प्रतिशत हुन्छ।
आयातित सामानको भुक्तानी सबै डलरमा गर्नुपर्छ, जसले गर्दा डलरको मूल्यवृद्धि हुँदा भुक्तानी सन्तुलनमा असर गरी शोधनान्तर र विदेशी विनिमय संचितिमा थप दबाब हुने अधिकारी बताउँछन्।
अर्का अर्थविद् डा. पोषराज पाण्डे भने डलरको भाउ वृद्धि हुँदा नेपाललाई घाटा मात्र हैन नाफा पनि हुने बताउँछन्। ‘विदेशबाट आउने रेमिट्यान्स बढी हुन्छ जसले जनताको हातमा धेरै रकम पुग्छ। निर्यात बढाउन सकेमा त्यहाँबाट आउने डलर विदेशी पर्यटकहरुले ल्याउने डलरले देशको बाह्य क्षेत्र मजबुत हुन सक्छ,’ पाण्डले भने, ‘तर बिडम्वना के छ भने नेपालको निर्यात आयातको तुलनामा नगन्य रहेको छ। हामीले उत्पादन बढाएर निर्यात गर्न सकेका छैनौं। त्यसैले पनि डलरको मूल्यमा भएको वृद्धिको नेपालमा खासै सकारात्मक असर भने हुन सक्दैन।’
अमेरिकाको केन्द्रीय बैंकले डलरको निक्षेपलाई आकर्षित गर्नका लागि निक्षेपमा ०.५ प्रतिशत व्याजदर बढाएको सिएनविसीले जनाएको छ। तर पनि डलरको निक्षेप नबढेकोले माग र आपूर्तिमा तालमेल नमिल्दा झनै मूल्य बढ्न सक्ने संकेत पनि सिएनविसीले गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो चार वर्षमा नेपालमा डलरको मूल्य निरन्तर उकालो लागेको छ। सन् २०१८ को जनवरीमा नेपालमा एक डलर बराबर १०१.५३ रुपैयाँ थियो तर सो रकम बढेर सन् २०२० को अप्रिलमा १२१.६९ रुपैयाँ पुग्यो। कोरोनाका कारण मूल्य वृद्धि हुन थालेपछि डलरको मूल्यमा पनि वृद्धि भएको थियो।
सन् २०२२ को मे महिनामा आएर एकै पटक एक डलरबराबर १२४ रुपैयाँ पुगेको छ। वालेट इन्भेष्टर नामक संस्थाले गरेको प्रक्षेपण अनुसार अबको एक वर्षभित्रमा प्रतिडलर १२५ रुपैयाँ ९० पैसा सम्म पुग्नेछ भने पाँच वर्षमा एक डलर बराबर १३५ रुपैयाँ ७८ पैसा नेपाली रुपैयाँ पुग्नेछ।