काठमाडौं– नेपाली बजारमा सुपर सोकोका दुई नयाँ इलेक्ट्रिक बाइकको बुकिङ खुला भएको छ। नेपालका लागि सुपर सोकोको आधिकारिक वितरक डी लाइफस्टाइल्सले यी मोटरसाइकलको सोमबारदेखि बुकिङ खुला गरेको हो।
कम्पनीले सुपर सोको टीएस स्ट्रिट हन्टर र टीसी वान्डरर गरी दुई मोटरसाइकलको लागि बुकिङ खुला गरेको हो। यी मोटरसाइकल सीमित संख्यामा मात्रै उपलब्ध हुनेछन्।
दुवै मोटरसाइकलमा ३ हजार ५ सय वाटको मोटर प्रयोग गरिएको छ। यसले १८० एनएम पिक टर्क जेनेरेट गर्छ। यसको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टा छ।
यी मोटरसाइकलमा ६० भोल्ट ३२ एएचको ड्युअल ब्याट्री प्रयोग गरिएको छ र यसले सिंगल चार्जमा २ सय किलोमिटरको रेन्ज दिन्छ। सिंगल ब्याट्री १० एम्पियर करेन्टमा चार्ज गर्दा साढे ३ घण्टामा फुल चार्ज हुन्छ।
सुपर सोको टीएस स्ट्रिट हन्टरमा पर्फमेन्स अप्टिमाइज गर्नका लागि सेल्फ डेभलप्ड बीएमओएस इन्टेलिजेन्ट इन्टर्याक्टिभ सिस्टम रहेको कम्पनीले जनाएको छ। त्यसैगरी यसमा सार्प फ्याङ–सेप्ड हेडलाइट, रेसिङ स्टाइल साइड विङ, ठूलो स्टोरेज स्पेस, लोअर सेन्टर अफ ग्राभिटी, बेटर कन्ट्रोल, थ्री डाइमेन्सनल रेसिङ कुशन, सीबीएस ब्रेकिङ सिस्टम, एन्टी थेफ्ट अलार्म, वान प्रेस स्टार्ट आदि विशेषता उपलब्ध छ।
सुपर सोको टीसी वान्डररमा चाहिं क्लासिक राउन्ड सेपको ल्याम्प छ। यसको सबैतिर एलईडी लाइटिङ सेटअप छ। यसले गर्दा ब्राइटर लाइट र वाइडर भिजन हुन्छ। यो मोटरसाइकल भिन्टेज मोडलमा आधारित छ, जसले गर्दा स्ट्रिमलाइन्ड र रग्ड बडी स्टाइलको छ। राइडरलाई यसले फ्रिडम र एड्भेन्चर स्पिरिट दिन्छ। यसमा रेट्रो फिलिङ टच उपलब्ध छ भने पर्सनालिटी शो गर्न पनि सहयोग गर्छ।
यसमा भएको इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले ब्याट्रीलाई ३६० डिग्री रियल टाइम मोनिटरिङ र प्रोटेक्सन गर्छ। यसमा पनि सीबीएस लिंकेज, एन्टी थेफ्ट सिस्टम, स्मार्ट रिमोट, वान प्रेस स्टार्ट आदि फिचर उपलब्ध छन्।
सुपर सोको टीएस स्ट्रिट हन्टरको मूल्य ३ लाख ७९ हजार ९ सय र सुपर सोको टीसी वान्डररको मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँबाट प्रारम्भ हुने कम्पनीको भनाइ छ।