पर्वत-पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्।
आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेपछि त्यहाँ रहेका करिब ८० घरमध्ये २५ घर बगेका हुन्। अन्य घरसमेत जोखिममा रहेको जनाइएको छ।
घटनामा मानवीय क्षति भने भएको छैन। बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
