कञ्चनपुर- पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ। वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
आज बिहान ८ बजे शारदा नदीमा रहेको बनबसा ब्यारेजमा पानीको बहाव १ लाख ४० हजार क्युसेकभन्दा बढी पुगेको जनाइएको छ।
बनबसा ब्यारेजमा पानीको बहाव १ लाख क्युसेकभन्दा बढी पुगेपछि ब्यारेजको सुरक्षालाई ध्यानमा राख्दै त्यहाँबाट हुने आवागमन पूर्ण रूपमा बन्द गर्ने गरिएको छ। हाल ब्यारेजबाट आवागमन पूर्ण रूपमा बन्द रहेको जनाइएको छ।
सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक बनबसा ब्यारेजबाट आवागमन नगर्न आग्रह गरेको छ। साथै, सम्भावित समस्या र जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ।
