धनगढी- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सत्ता गठबन्धन ‘क्लियर’ नभएको बताएका प्रचण्डले कैलालीमा गठबन्धनका बागी उम्मेदवारलाई भोट मागेर असन्तुष्टि व्यक्त गरेका हुन्।
कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सहमति विपरीत नेपाली कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको आरोप लगाए।
‘गठबन्धनमा कांग्रेसको भूमिका राम्रो नदेखिने संकेत देखिएको छ। उसले ठाउँठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ, त्यसैले कैलारी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई नै भोट दिएर जिताउन आग्रह गर्दछु,’ उनले भने, 'नेपाली कांग्रेसको एकजना स्थानीय नेतासँग पनि मेरो कुरा भयो। म र प्रधानमन्त्री शेरबहादुर देउवा सँगै आएका छौँ। उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ। हाम्रा उमेदवारलाई विजय गराउन अपिल गर्दछु। हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन। प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ सबै झुक्नैपर्छ भन्ने होइन।'
गठबन्धनप्रति असन्तुष्ट बनेर कैलारी उपाध्यक्षका लागि उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुलाई भोट हाल्न उनले आह्वान गरेका थिए।
गठबन्धनले सिट बाँडफाँड गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो। तर, गठबन्धनको सहमति तोड्दै कांग्रेसले अध्यक्षका लागि राजसमझ चौधरीलाई उम्मेदवार बनाएको थियो। गठबन्धन गर्दा कांग्रेसको भागमा परेपनि उपाध्यक्षमा लक्ष्मी सत्गौवा थारुलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ।
कांग्रेस र माओवादीले आग्रह गर्दा पनि चौधरी र थारुले उमेदवारी फिर्ता लिएनन्। वैशाख १९ गते गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै उमेदवारलाई कारबाही गरेको जनाएको थियो।