काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ।
कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण र सम्वर्द्धनका लागि निरन्तर क्रियाशील रहनु आजको आवश्यकता भएको उल्लेख छ।
सन्देशमा भनिएको छ, 'यस विशेष दिनमा उहाँहरूप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी न्यायपालिकाको प्रर्द्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गर्दछौँ।'
प्रधान न्यायालय ऐन, २००८ को कार्यान्वयन २००९ साल वैशाख २६ गतेदेखि भएको सम्झनामा प्रत्येक वर्ष कानुन दिवस उल्लासमय रुपमा मनाउने गरिएको छ। दिवसका अवसरमा बारले न्यायपालिकालाई यस अवस्थासम्म ल्याई पुर्याउन अग्रणी भूमिका खेल्नु हुने सम्पूर्ण अग्रज व्यक्तित्व र अग्रज कानुन व्यवसायीको समेत स्मरण गरेको छ।