गलकोट- आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ।
यही ३० गते हुने निर्वाचनको लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ। जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ।
जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिए।
'जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरुलाई सामग्रीसहित बुझाउन थालिएको छ, टाढाका केन्द्रका जाँदै गर्नुहुन्छ, नजिकका केन्द्रका २७ गतेसम्म पुग्नेछन्,' उनले भने, 'मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिबार नमूना मतदान गरेर पठाएका छौँ, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन्।'
मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९० स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ। मतदान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० कर्मचारी परिचालन गरिएको छ। यस्तै २३० मतदान केन्द्रमा तीनजनाका दरले ६९० स्वयंसेवक स्थानीय खटाइनेछन्।
यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार मतदान केन्द्रमा शनिबारदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ।
उनीहरुलाई बन्दोबस्तीका सामग्रीसहित शनिबार बागलुङ बजारबाट केन्द्रतर्फ पठाइएको छ। १० पालिका रहेको जिल्लामा बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदानस्थल रहेको छ।