काठमाडौं– चितवनको भरतपुरमा आइतबार राति हत्या भएका युवक एक अनिल परियार वर्षअघि जेलबाट छुटेको खुलेको छ। परियार चितवन कारागारमा एक वर्ष सजाय काटेर छुटेको रेकर्ड प्रहरीसँग छ।
प्रहरीका अनुसार उनको मृत्यु दुई पक्षबीचको झगडाका कारण भएको हो। धारिलो हतियार प्रहार गरेर हत्या ती युवकको हत्या भएको प्रहरीको भनाइ छ। भरतपुर महानगरपालिका–१२ निवासी परियारको आइतबार साँझ साढे ७ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।
यसअघि आपराधिक क्रियाकलापमा जोडिएका परियारमाथि त्यही पृष्ठभूमिका युवाहरूसँगको विवादका क्रममा आक्रमण भएको थियो। उनीविरुद्ध यसअघि ज्यान मार्ने उद्योगसहित अन्य अपराधमा पनि मुद्दा चलेको थियो।
प्रहरीले भनेको छ, ‘यो घटनामा विशुद्ध आपराधिक पृष्ठभूमि जोडिएको देखिन्छ। यसमा कुनै राजनीतिक संलग्नता अहिलेसम्म पाइएको छैन। ज्यान गुमाएका युवकको विगत पनि विवादित थियो। उनको हत्यामा पनि त्यही पृष्ठभूमिका व्यक्तिहरु संलग्न हुन सक्ने अनुमानसहित अनुसन्धान गरिरहेका छौं।’
परियारको हत्या आन्तरिक विवाद र लेनदेनका कारण भएको अनुमान प्रहरीले लगाएको छ। परियारको निकटता एकजना भारतीय नागरिकसँग रहेको देखिएको र घटनामा तिनै भारतीयको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ।
भरतपुर–७ कृष्णपुर खेल मैदान अगाडि धारिलो हतियार प्रहार भएका परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि आज बिहान भरतपुरका केही चोकमा टायर बालेर प्रदर्शन पनि भएको थियो।